पोखरा– अहिले पोखरामा मोफसलकै दुई चर्चित फुटबल प्रतियोगिता २४ औं आहा रारा पोखरा गोल्डकप र २५ औं बुढासुब्बा गोल्डकप फुटबल चलिरहेको छ। आहारारा पोखरा गोल्डकप पोखरामा र बुढासुब्बा धरानमा जारी छ।
संयोग के छ भने एनआरटीले दुवै प्रतियोगितामा आज एकैदिन प्रतिस्पर्धा गर्दैछ। तर, दुई फरक टिम बनाएर। पोखरामा अन्जन विष्टको कप्तानीमा र धरानमा सरोज तामाङको कप्तानीमा एनआरटी मैदान उत्रँदैछ।
यस्तै ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पनि दुवैतिर दुई टिम बनाएर खेलिरहेको छ।
आहा रारा पोखरा गोल्डकपमा एनआरटीले आज ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ। खेल दिउँसो २स्३० बजे पोखरा रंगशालामा हुनेछ।
चर्च ब्वाइजले बुधबार भुटानी क्लब आरटिसीलाई अराएर बुढासुब्बाको फाइनल पुगिसकेको छ।
यस्तै एनआरटीले आजै बुढासुब्बा गोल्डकपमा सेमिफाइनल खेल्दैछ। एनआरटीले बुढासुब्बाको दोस्रो सेमिफाइनलमा युनाइटेड खर्साङ एफसीसँग खेल्नेछ। यस सिजन लगभग सबै जसो गोल्डकपहरुमा प्रतिस्पर्धा गरिरहेको चर्च ब्वाइज र एनआरटीले दुई चर्चित फुटबल प्रतियोगिताको साय जुध्दा पनि दुवैतिर सहभागी भएको हो।
मंसिर यता चर्च ब्वाइजले ४ वटा नकआउट प्रतियोगिताको फाइनल खेल्दा दुई फाइनल एनआरटीविरुद्ध नै थियो। जसमा दुवैले एक–एक फाइनल जितेका थिए। चर्च ब्वाईजले झापा कप र फाल्गुनन्द गोल्डकपको उपाधि जित्दा इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा भने उपविजेता बनेको थियो।
एनआरटीले इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई ३–० ले हराएर उपाधि जितेको थियो भने झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ ले हराएर उपाधि जितेको थियो। चर्च ब्वाइजले पाँचौं फाइनलको रुपमा शनिवार बुढासुब्बा गोल्डकपको फाइनल खेल्नेछ।
चर्च ब्वाइज र एनआरटीले केही दिन अघि काठमाडौंमा भएको प्रथम सभापति कपमा पनि प्रतिस्पर्धा गरेको थियो। जहाँ एनआटीले सोमिफाइनलसम्मको यात्रा तय गर्दा चर्च ब्वाईज पहिलो खेलमै पराजित भएको थियो।