वामदेव गौतमले भने: संसद्‌मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ - Chaitanya News
  • 2026-06-28
  • 19:48:52
  • आइतबार,आषाढ १४, २०८३
  • वामदेव गौतमले भने: संसद्‌मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ

    वामदेव गौतमले भने: संसद्‌मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ

    काठमाडौँ– राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेशबारे संसद् बैठकमै पुगेर निर्णय लिने बताएका छन्। राष्ट्रियसभाबाट अध्यादेश पारित गर्न सत्तापक्षलाई सकस पर्ने देखिएपछि नेता गौतम अध्यादेशको पक्षमा उभिन्छन् कि विपक्षमा भन्ने बहस भइरहेका बेला गौतमले अहिले नै गोपनीयता नखोल्ने प्रतिक्रिया दिएका हुन्।

    ‘संसद् बैठकमै पुगेपछि निर्णय, गर्छु अहिले गोपनीयता खोल्दिनँ’, गौतमले भने, ‘भोट हाल्ने ठाउँमा जान्छौ अनि निर्णय गर्छौ अहिले सबै खोतल्न नखोज्नुस।

    गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन्। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपा गरी २७ सांसद छन्। जबकि अध्यादेश स्वीकृत गर्न बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ।

    यस्तोमा मनोनित अञ्जान शाक्यले अध्यादेशको पक्षमा मत हाल्ने निश्चित नै छ। शाक्यको मत जोड्दा २८ पुग्छ । त्यसबाहेक अझै दुई सांसद सत्तापक्षलाई चाहिन्छ।

    त्यसका लागि सत्ता पक्षले ३ सांसद रहेको जसपालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ। तर उसले निर्णय लिइसकेको छैन। यस्तो अवस्थामा सत्तापक्षलाई गौतमको समेत साथ चाहिन सक्छ।