काठमाडौँ– क्यान्सर विश्वव्यापी रूपमा एक गम्भीर स्वास्थ्य चिन्ताको विषय बन्दै गएको छ। यस रोगका बिरामी वर्षौँदेखि बढ्दै गइरहेका छन्।
विगत एक वा दुई दशकको तुलनामा मानिसहरूमा क्यान्सरको बारेमा चेतना बढेको छ। चिकित्सा क्षेत्रमा नवीनता र प्राविधिक विकासले क्यान्सरको उपचार अपेक्षाकृत सजिलो र सस्तो बनाएको छ। तैपनि यो रोग अझै पनि धेरैजसो मानिसहरूको लागि ठुलो चिन्ताको कारण बनेको छ।
सन् २०२२ मा दक्षिण–पूर्वी एसिया क्षेत्रमा धेरै प्रकारका क्यान्सरका मामिलामा वृद्धि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का क्षेत्रीय निर्देशक साइमा वाजेदले एक प्रतिवेदनमा उल्लेख गरेकी छिन्। ओठ र मुखको क्यान्सर, पाठेघरको मुखको क्यान्सर बढेका छन् भने बालबालिकाहरूमा समेत लगभग सबै उमेर समूहहरूमा क्यान्सरका मामिला बढेको पाइएको छ।
यही क्रम चलिरह्यो भने २०५० सम्ममा यस क्षेत्रमा क्यान्सरका नयाँ बिरामी र यसबाट हुने मृत्यु हुने बिरामीको सङ्ख्यामा ८५ प्रतिशत वृद्धि हुन सक्ने चिन्ता प्रतिवेदनमा व्यक्त गरिएको छ।
डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रको प्रतिवेदन अनुसार २०२२ मा यस क्षेत्रमा क्यान्सरका २४ लाख नयाँ बिरामी भेटिएका छन्। यसमध्ये ५६ हजार बालबालिका थिए।
जसअनुसार क्यान्सरले १५ लाखभन्दा बढीको मृत्यु भएको थियो। दक्षिण–पूर्वी एसियाली देशहरूमा अन्य क्षेत्रहरूको तुलनामा ओठ, मुख, पाठेघर र बाल्यकालको क्यान्सरका सबैभन्दा धेरै मामिला भेटिएको पनि प्रतिवेदनले देखाएको छ। एजेन्सी