धनगढी– धनगढीमा सुदूरपश्चिम सरकारको आयोजनामा पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला आयोजना हुने भएको छ।
प्रदेशको ९ वटै जिल्लाका कृषकहरूको सहभागितामा माघ २६ देखि ३० गतेसम्म कृषि तथा पशुपन्छी प्रदर्शनी हुने भएको हो।
कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक खगेन्द्र प्रसाद शर्माका अनुसार मेलामा कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ। प्रदेश सरकारले कृषिमा गरेको लगानीको प्रतिफलको मूल्याङ्कन गर्न र थप सम्भावनाको खोजी गर्ने उद्देश्यका साथ निर्देशक शर्माको भनाइ। प्रदेश सरकारको ३५ लाख बजेटमा आयोजना हुने मेलामा १५० वटा निःशुल्क स्टलको व्यवस्था रहने भएको छ।
मेलामा ९ वटै जिल्लामा उत्पादित रैथाने तथा स्थानीय कृषि, पशुपन्छी र मत्स्यजन्य बाली र वस्तुहरूको प्रदर्शन हुने भएको छ। साथै मेलामा हरेक दिन कृषि सम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिइने छ। यसैबिच कृषि विज्ञहरूसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धानबारे बहस र छलफल समेत गरिने कृषि विकास निर्देशनालयले जनाएको छ।
मेलाले बजार नपाएको भन्ने किसानको गुनासो र खोजेको कृषि उपज पाइएन भन्ने उपभोक्ताको गुनासोलाई पनि सम्बोधन गर्ने विश्वास लिइएको छ।
यसैबिच कैलाली र कञ्चनपुर जिल्लामा बङ्गुरमा देखिएको स्वाइन फिभर रोगलाई महत्वको साथ हेरिएको छ। पशुपन्छीबाट रोग फैलिन नदिन मेलामा ल्याइने त्यस्ता पशुपन्छीको जाँच पहिले नै गर्ने बताइएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी प्रमुख डाक्टर हेमराज अवस्थाले ल्याउनु पूर्व त्यस्ता पशुपन्छीहरूलाई टे«सिङ पनि गर्ने बताए। यद्यपि बङ्गुर पालक कृषकले आफ्नो उत्पादन मेलामा प्रदर्शन गर्नको लागि सम्पर्क नगरेको बताए।