आज श्रीपञ्चमी, सरस्वती पूजाको महत्व तथा पूजाविधि - Chaitanya News
  • 2026-05-25
  • 07:42:04
  • सोमबार,जेठ ११, २०८३
  • आज श्रीपञ्चमी, सरस्वती पूजाको महत्व तथा पूजाविधि

    आज श्रीपञ्चमी, सरस्वती पूजाको महत्व तथा पूजाविधि

    आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गरिन्छ। विद्यार्थीहरु बिहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन्। ज्ञान, बुद्धि, विवेक बढोस् भनेर विद्याकी देवीको आज उपासना गरिन्छ। बालबालिकाहरुलाई आजैदेखि अक्षराम्भ गराउने चलन पनि छ।

    सरस्वतीको विधिपूर्वक पूजा गरेमा विद्या, वाणी र प्रशिद्धि प्राप्ती हुने आस्था रहँदै आएको छ। विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रुपमा विशेष पूजा आराधना गर्ने गर्दछन्।

    देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन्। जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ। माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नाले कार्यसिद्धि मिल्ने धार्मिक विश्वास गरिन्छ।

    १. भारती, २. सरस्वती, ३. शारदा, ४. हंसवाहिनी, ५. जगती, ६. वागीश्वरी, ७. कुमुदी, ८. ब्रह्मचारिणी, ९. बुद्धिदात्री, १०. वरदायिनी, ११. चंद्रकाति, १२. भुवनेश्वरी।

    चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्।

    ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूला महत्व छ।

    यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ।

    सरस्वतीको पूजाविधि:

    प्रथमत पहेंलो, सेतो वा केसरी रंगको वस्त्रलाई आसन बनाई सरस्वतीको मूर्तिलाई त्यस आसनमा राख्नुहोस्। देवीको पूजाका लागी सेतो वा पहेंलो फूल तयार पार्नुहोस्। प्रसादकामा सिजन अनुसारका फल, खीर, मालपुवा तयार पार्नुहोस्।

    त्यसपछि दाहिने हातमा पवित्र जल लिई यो मन्त्र भन्नुहोस्

    ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा।।
    यः स्मरेत्पुण्डरीकाक्षं स बाह्यभ्यन्तरः शुचिः।।
    ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्षः पुनातु।।

    मन्त्रको उच्चारण गर्दै ३ पटक हातमा जल लिई आफूमाथि र तयारी अवस्थामा रहेको पूजा सामग्रीमाथि छर्किनुस्। त्यसपछि तलको मन्त्रोच्चारण गर्दै आचमन गर्नुहोस्।

    ॐ केशवाय नमः, ॐ माधवाय नमः, ॐ नारायणाय नमः

    आचमन पछि हात धुनुहोस्। अनि पुनः आसन शुद्धिका लागी यो मन्त्र पढ्नुुहोस्

    ॐ पृथ्वी त्वयाधृता लोका देवि त्यवं विष्णुनाधृता।
    त्वं च धारयमां देवि पवित्रं कुरु चासनम्।।

    शुद्धि पश्चात निधारमा साहिँली औंलाले केशरीको चन्दन लगाउँदै यो मन्त्र उच्चारण गर्नुहोस्।

    चन्द सुमहत्पुण्यम् पवित्रं पापनाशनम्।
    आपदां हरते नित्यम् लक्ष्मी तिष्ठतु सर्वदा।।

    त्यसपश्चात पूजाका लागी हातमा तिल, फूल, अक्षता, मिठाइ र फल लिएर तलको संकल्प मन्त्र पढ्नुहोस्।

    यथोपलब्ध पूजन सामग्री भिः भगवत्यास् सरस्वत्यास् पूजनमहं करिष्ये।

    यति मन्त्र उच्चारण गरे पश्चात भगवान गणेशको आराधनाका लागी हातमा रातो फुल लिई यो मन्त्र पढ्नुहोस्।

    गजाननम्भूत गणादिसेवितं कपित्थ जम्बू फलचारुभक्षणम्।
    उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वरपादपंकजम्।

    मन्त्र उच्चारण सकेपछि हातमा लिएको फुल गणेशलाई अर्पण गर्नुहोस्। त्यसपछि हातमा अक्षता लिएर यो मन्त्र उच्चारण गर्दै गणेशको आह्वान गर्नुहोस्।

    ॐ गं गणपतये इहागच्छ इह तिष्ठ।।

    अब अक्षता अर्पण गर्नुहोस्। र पवित्र जल लिएर यो मन्त्र उच्चारण गर्नुहोस्।
    एतानि पाद्याद्याचमनीयस्नानीयं, पुनराचमनीयम् ॐ गं गणपतये नमः।

    अब रक्तचन्दन लगाउन यो मन्त्र पढ्नुहोस्
    इदम् रक्त चंदनम् लेपनम् ॐ गं गणपतये नमः।

    त्यसैगरी श्रीखण्ड चन्दन भन्दै चन्दन लगाउनुस् र सिन्दूर अर्पण गर्न यो मन्त्र पढ्नुहोस्।
    इदं सिन्दूराभरणं लेपनम् ॐ गं गणपतये नमः।

    त्यसपछि दूबो र बेलपत्र अर्पण गर्दै रातो वा पहेंलो वस्त्र चढाउन यो मन्त्र उच्चारण गर्नुहोस्।
    इदं पीत वस्त्रं ॐ गं गणपतये समर्पयामि।

    त्यसपश्चात गणेशलाई प्रसाद अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस्।
    इदं नानाविधि नैवेद्यानि ॐ गं गणपतये समर्पयामि।

    त्यसपछि मिष्ठान्न अर्पण गर्न यो मन्त्र पढ्नुहोस्।
    इदं शर्करा घृत युक्त नैवेद्यं ॐ गं गणपतये समर्पयामि।

    प्रसाद अर्पण गरेपछि गणेशलाई यो मन्त्र पढेर आचमन गराउनुहोस्।
    इदं आचमनयं ॐ गं गणपतये नमः।

    त्यसपछि पान सुपारी चढाउन यो मन्त्र पढ्नुहोस्।
    इदं ताम्बूल पुगीफल समायुक्तं ॐ गं गणपतये समर्पयामि।

    त्यसपछि एउटा फूल लिएर गणपतिलाई चढाउदै यो मन्त्र उच्चारण गर्नुहोस्।
    एषस् पुष्पाञ्जली ॐ गं गणपतये नमः।

    गणपति पूजनपछि सूर्य सहित नवग्रहको पूजा गर्नुहोस्। त्यसपछि सरस्वतीको पूजा आरम्भ गर्नुहोस्।

    शुरुमा यस मन्त्रद्धारा ध्यान गर्नुहोस्।

    सरस्वती महाभागे विद्या कमललोचने।
    विश्वरूपे विशालाक्षी विद्यां देहि विद्यांवरे।।

    त्यसपछि प्रतिष्ठाका लागी हातमा अक्षता लिई यो मन्त्र उच्चारण गर्नुहोस्।
    ॐ भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ।

    यस मन्त्रोच्चारण पश्चात अक्षता अर्पण गरी जल हाली पाद्य र आचमन गराउनुहोस्।
    एतानि पाद्याद्याचमनीय स्नानीयं, पुनराचमनीयम्।

    प्रतिष्ठापछि सरस्वतीलाई यो मन्त्र उच्चारण गर्दै स्नान गराउनुस्।

    ॐ मन्दाकिन्या समानीतैः हेमाम्भोरुहवासितैः स्नानं कुरुष्व देवेशि, सलिलं च सुगन्धिभिः।।
    ॐ श्री सरस्वतयै नमः।।

    त्यसपछि चन्दन अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस्।
    इदं रक्त चंदनम् लेपनम्।

    त्यसपछि सिन्दूर अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस्।
    इदं सिन्दूराभरणं।

    त्यसपछि फुल अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस्।

    ॐ मन्दारपारिजाताद्यैरनेकैः कुसुमैः शुभैः।।
    पूजयामि शिवे, भक्तया, सरस्वतयै नमो नमः।।
    ॐ सरस्वतयै नमः, पुष्पाणि समर्पयामि।।

    अब वस्त्र अर्पण गर्न यो मन्त्र उच्चारण गर्नहोस्। वस्त्र सेता वा पहेलो अर्पण गर्नुहोस्।
    इदं पीत वस्त्र समर्पयामि।

    अब प्रसाद अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस्।
    इदं नानाविधि नैवेद्यानि ॐ सरस्वतयै समर्पयामी।

    त्यसपछि मिष्ठान्न अर्पण गर्न यो मन्त्र उच्चारण गर्नुहोस्।
    इदं शर्करा घृत समायुक्तं नैवेद्यं ॐ सरस्वतयै समर्पयामि।

    त्यस पश्चात सरस्वतीलाई आचमन गराउन यो मन्त्र उच्चारण गर्नुहोस्।
    इदं आचमनयं ॐ सरस्वतयै नमः।

    आचमन सकेर अब सुपारी अर्पण गर्न यो मन्त्रको उच्चारण गर्नुहोस्।
    इदं ताम्बूल पुगीफल समायुक्तं ॐ सरस्वतयै समर्पयामि।

    सुपारी अर्पण पछि फूल अर्पण गर्दै पूजा समाप्त गर्न यो मन्त्र उच्चारण गर्नुहोस्।
    एषस् पुष्पाञ्जलि ॐ सरस्वतयै नमः।

    यसरी पूजा सकेपछि एउटा फुलमा चन्दन र अक्षता लगाई किताब वा अभ्यास कपीमा राख्नुहोस्। त्यसपश्चात अन्त्यमा देवी सरस्वतीको आरती गाउनुहोस् । आरती सकेपछि मुख्य पूजाकर्ता वा पूजारीका हातबाट टिका ग्रहण गरी प्रसाद लिनुहोस्।

    — एजेन्सीको सहयोगमा