काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पेश गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो।
संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भैरहेको छ। कतिपय क्षेत्रमा जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भैरहेको अधिकारीहरुले बताउने गरेका छन्।
मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्ने घोषणा गरेका थिए। मन्त्री पौडेलले मन्त्रालय सम्हालेलगत्तै थालेको गृहकार्य पछि हालै मन्त्रीपरिषदले मन्त्रालयलाई पूर्व स्वीकृति दिएको हो। मन्त्री पौडेलले अति आवश्यक दरबन्दी पुनरावलोकनको काम लामो समयदेखि नहुँदा देखिएको बाधा हटाउने घोषणा एक सय दिनको पत्रकार सम्मेलनमा गरेका थिए।
गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो।
अब मन्त्रीपरिषदबाट पूर्व स्वीकृति प्राप्त भए पछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार सर्भेक्षण प्रतिवेदनपछि मन्त्रालयमा बढ्दो मागअनुसारका जनशक्ति थप गर्न वैधानिक प्रक्रिया अघि बढाइनेछ।
हाल मन्त्रालयमा एक सय ६ दरबन्दी तथा आठ सय ३१ पुल दरबन्दीका रुपमा जनशक्ति कार्यरत छन्।