संविधानका आधारभूत आवश्यकतालाई कमजोर गर्ने गरी संविधान संशोधन हुँदैन : देउवा - Chaitanya News
  • 2026-06-29
  • 07:05:03
  • सोमबार,आषाढ १५, २०८३
  • संविधानका आधारभूत आवश्यकतालाई कमजोर गर्ने गरी संविधान संशोधन हुँदैन : देउवा

    संविधानका आधारभूत आवश्यकतालाई कमजोर गर्ने गरी संविधान संशोधन हुँदैन : देउवा

    काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि होस् या अन्य विषय कार्यान्वयनका लागि होस् यही संसद्ले कानुन बनाउने बताएका छन् । आज (शुक्रबार) संघीय संसद्को हिउँदे अधिवेशनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले संसद्मा रहेका सम्पूर्ण विधेयक पारित हुनुपर्ने भन्दै कांग्रेस र एमालेबिच भएको सात बुँदे सम्झौता कार्यान्वयनमा कांग्रेस दृढ रहेको र त्यसमा सबै दलको सहयोग रहने विश्वास लिइएको बताए।

    उनले देशको आर्थिक अवस्थालाई सुदृढ गर्ने मुख्य ध्येय यो सरकारको रहेको बताए। कुनै पनि सरकारको मूल्याङ्कन गर्ने समय ६ महिना मात्र पर्याप्त नहुने बताउँदै उनले सरकारले राम्रो काम गरेको आफूले अनुभूति गरेको बताए। यद्यपि आवश्यकता अनुसार विकासको काम अगाडि नबढेको सभापति देउवाले बताए।

    आर्थिक व्यवस्थामा सुधार ल्याउनका लागि अध्यादेशमार्फत केही कानुन ल्याएको बताउँदै उनले यो कानुनले देशमा सुशासन कायम गर्ने, सुकुम्बासीको समस्या समाधान गर्ने, सहकारी क्षेत्रमा सुधार हुने विश्वास आफूले लिएको समेत उनले बताए। यी अध्यादेश यही संसद्बाट पारित हुने विश्वास लिएको बताउँदै उनले यथाशीघ्र कानुन बनाउन सरकारलाई आग्रह गरे।

    लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन भएको भन्दै आवश्यक कानुन बनाउन ढिलाइ गर्न नहुने उनले बताए । जनताको सरोकारका विषयमा थप विधेयकहरू ल्याउन पनि उनले सुझाव दिए।

    आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले बहुदलवादमा आधारित गणतन्त्र, समावेशिता लगायत संविधानका आधारभूत आवश्यकतालाई कमजोर गर्ने गरी संशोधन गर्न नहुने उनले बताए। उनले संविधान संशोधन गर्दा सबै दलसँग सल्लाह गरेर गर्नुपर्ने धारणा राखे।