मकवानपुर– ४ महिना पछि प्रदेशसभाको अधिवेशन बैठक बस्ने तय भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको १५ औँ अधिवेशन बैठक बिहान ११ बजेका लागि आह्वान गरेका छन्। सोही अनुसार प्रदेशसभाको बैठक बस्ने तयारी भएको हो।
प्रदेशसभाको १५औँ अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची तय गरिएको छ। बिहीबार साँझ बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दलीय रूपमा शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको छ।
सदनमा दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। उनका अनुसार, शुक्रबार प्रदेशसभा स्थापना दिवस भएकाले मन्तव्यको कार्यसूचीपछि बैठक स्थगित गरिने छ। बैठकको पछि हाउसका गतिविधि र कार्यसूचीका विषयमा सत्तापक्ष र प्रतिपक्षबिच छलफलपछि निर्णय गरिने उनले बताए।