काठमाडौं– नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
काठमाडौंमा आजदेखि सुरू भएको नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो। नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।
नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन्। ४५ बलको सामना गरेकी सिताले ३ चौका प्रहार गरिन्। त्यस्तै कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाइन्।
नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २(२ विकेट लिए। आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १–१ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन्। उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन्। त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन्।
नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक(एक विकेट लिए।
नेपालले महिला टी–२०आईमा पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य ११६ रनको हो। यो लक्ष्य नेपालका लागि चुनौतिपूर्ण हुनेछ।
नेपालका लागि दुई खेलाडीले डेब्यू समेत गरे । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गरेका हुन्।
श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३(३ खेल खेल्ने छन्। नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ। माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ।
फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ।