आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रूपमा मनाउँदै - Chaitanya News
  • 2026-05-25
  • 07:58:04
  • सोमबार,जेठ ११, २०८३
  • आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रूपमा मनाउँदै

    आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रूपमा मनाउँदै

    काठमाडौँ– आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रूपमा सोनाम ल्होछार मनाइँदैछ।

    प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।

    भूमि पूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ। विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।

    तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी आज ल्होसार मनाइँदै छ।