काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
उनले सम्बोधन गर्दै ०८४ मंसिरमा मात्रै सरकार ढल्ने जिकिर गरेका छन्।
उनले अहिले दिनैपिच्छे सरकार ढल्ने हल्ला चलाइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन र भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे।
‘दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला छ। अलिक भरेसम्म सरकार ढल्छ। साँझसम्म त सरकार ढल्छ, ढल्छ। राति नै ढल्छ अथवा भोलि बिहानै सरकार ढल्छ। ढलेन भने दिउँसोसम्म सरकार ढल्छ। भोलि ढलेन भने पर्सिलाई सारिदिने। पर्सि भएन भने अर्को हप्तालाई सारिदिने,’ प्रधानमन्त्री ओलीले भने, ‘यो महिना ढलेन भने अर्को महिनलाई सार्ने। साउनमा सरेन भने भदौमा सार्ने। भदौमा पनि ढलेन भने दशैंलाई सार्ने। दशैंमा पनि ढलेन भने मंसिरमा सार्ने। कुन मंसिरमा ? ०८४ मंसिरमा सरकार ढल्छ। के परिणाम आउँछ त्यस अनुसार सरकार ढल्छ। तर, मान्छे धेरैले अस्तिको मंसिरमा भन्ने बुझे। ०८४ को मंसिरभन्दा यता सरकारमाथि लगाउने आरोप मात्रै हो।