काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्बिर देखाइएको भन्दै गुनासो गरेका छन्।
हिजो (आइतबार) भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता बताएका हुन् ।
यस्तै ओली केही दिनदेखि स्वास्थ्य समस्या भएर निवासमै आराम गरिरहेका थिए। उनलाई चिकित्सकहरूले लामो यात्रा नगर्न आग्रह गरेपछि गत शुक्रबार भर्चुअल माध्यमबाटै सिद्धबाबा सुरुङको ब्रेक थ्रु लगायतका कार्यक्रम उद्घाटन गरेका थिए।
आफू सामान्य बिरामी भएको र अहिले पनि कमजोर नै रहेको प्रधानमन्त्रीको भनाइ छ।
केही दिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका प्रधानमन्त्री ओलीले भने, ‘मेरो अलि अलि स्वास्थ्य राम्रो छैन। रुघाखोकी अलिक नराम्रोसँग लाग्यो। तर, मलाई रुघाखोकी, हाच्छ्युँ गरेको देख्यो भने आइसियुमा भेन्टिलेटर लगाएको वा अक्सिजन माक्स लगाइरहेको फोटो आइहाल्छ।’
उनले जुन आशले आफ्नो त्यस्ता तस्बिर देखाइएको हो त्यो पुग्ने अवस्था नभएको पनि जिकिर गरे।
‘तपाईँहरूले पनि देख्नुभयो हाला। सुन्नुभयो होला। मलाई रुघा लागेको थियो। अहिले पनि राम्रै निको भइसकेको छैन। एन्टिबायोटिक खाँदा अलिक कमजोर बनाएको छ, कुरा त्यत्ति हो। जे आशले आइसियुमा देखाउँछन्, त्यो आश पुग्ने वाला छैन,’ प्रधानमन्त्री ओलीले भने।