काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका छन्। आज (बिहीबार) राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको समेत बताए।
‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ। सरकार दिन गनेर बस्दैन, काम गर्नेछ। निराशालाई आशामा बदल्नेछ। देश छोडेर जाने वातावरण हटाउन खोजिरहेका छौँ’, उनले भने।
अर्थतन्त्र दबाबमा रहेको बताउँदै पौडेलले भने, ‘हाम्रो मुलुकको अर्थतन्त्र दबाबमा रहँदै आएको छ। यस दबाबलाई चिर्दै अगाडि बढिरहेका छौँ। अझै सुधारका काम अगाडि बढाउँछौँ।
संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उनले बताए। आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए। बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे।
बैंकमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न जोड दिँदै उनले अतिरिक्त काम गरेर अब्बल बैंक बनाउन कर्मचारीहरूलाई आग्रह गरे।