सरकारले बदनियत राखेर अध्यादेश ल्यायो : अर्जुननरसिंह केसी - Chaitanya News
  • 2026-06-29
  • 01:33:51
  • आइतबार,आषाढ १४, २०८३
  • सरकारले बदनियत राखेर अध्यादेश ल्यायो : अर्जुननरसिंह केसी

    सरकारले बदनियत राखेर अध्यादेश ल्यायो : अर्जुननरसिंह केसी

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको दाबी गरेका छन् ।

    आज (मंगलबार) संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । यस्तै उनले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको समेत बताए।

    सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको तर त्यसको अर्थ जनप्रतिनिधिको संस्था संसद्लाई पन्छाउनु ठिक होइन,’ उनले भने।

    सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश को दफा २ ले गरेका विषयमा आफ्नो गम्भीर प्रश्न रहेको उनले बताए।

    ‘सरकारलाई अध्यादेश ल्याउने अधिकार संविधानले दिएको छ। राष्ट्रिय महत्त्वको कुरामा अध्यादेश ल्याउने हो तर सामान्य इस्यूमा पनि अध्यादेश ल्याउने र जनप्रतिनिधिलाई पन्छाएर ल्याउने ठिक होइन,’ उनले भने।

    अध्यादेश ल्याउने अवैधानिक भन्ने होइन तर कस्तो र कुन किसिमको अध्यादेश ल्याउने हो भन्ने कुरा गम्भीर भएर बुझ्नुपर्ने उनले बताए।

    ‘अध्यादेशले निजी क्षेत्र पनि सन्तुष्ट भएको सुनेको छु। तर कुरा के छ भने भर्खर राज्यव्यवस्था तथा सुशासन समितिमा नीतिगत भ्रष्टाचारलाई नियन्त्रण गर्ने ठुल्ठूलो कुरा आएको छ। सरकार मात्रै होइन सरकारले प्रत्यायोजित गरेको विशिष्ट श्रेणीको कर्मचारीले प्रयोग गरेको पनि नीतिगत निर्णय हुने र अख्तियारबाट वञ्चित हुने भनी नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्नका लागि अध्यादेश ल्याइएको छ,’ उनले भने।

    भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि पनि गम्भीर प्रश्न उठेको केसीको भनाइ छ।

    ‘जग्गा वितरणका लागि भूमि सम्बन्धी ऐन २०२१ ल्याइएको छ। बदनियत ढंगबाट अध्यादेश ल्याइएको छ,’ उनले भने।