काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहन राष्ट्रिय हितलाई तिलाञ्जलि दिन नसक्ने बताएका छन् । आज (सोमबार) नेपालको परराष्ट्र नीतिबारेको संवादमा बोल्दै सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने बताएका छन्।यस्तै उनले पञ्चशीलको सिद्धान्तमा आफू प्रतिबद्ध रहेको समेत बताए।
उनले भने, ‘हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सिएका छैनौँ। तर, भूराजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम गर्दैनौँ। नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने हामी स्विकार्दैनौँ।’
नेपाल एउटा जिम्मेवार, विश्व शान्ति र न्यायको पक्षधर रहेको ओलीले बताए। राष्ट्रिय हितमा अडान नलिएर भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूबाट नहुने उनको भनाइ छ।