अमेरिकामा सत्ता हस्तान्तरण गर्न लाग्छ ७५ दिन लाग्नुको कारण के हो ? - Chaitanya News
  • 2026-06-29
  • 11:02:09
  • सोमबार,आषाढ १५, २०८३
  • अमेरिकामा सत्ता हस्तान्तरण गर्न लाग्छ ७५ दिन लाग्नुको कारण के हो ?

    अमेरिकामा सत्ता हस्तान्तरण गर्न लाग्छ ७५ दिन लाग्नुको कारण के हो ?

    वासिङ्टन डीसी– हरेक देशमा सत्ता हस्तान्तरण गर्ने आ–आफ्नै प्रक्रिया छन्। बेलायतमा चुनावी नतिजा आएपछि हार्ने प्रधानमन्त्रीले देशको राजा वा रानीकहाँ गएर राजीनामा दिन्छन्। त्यसलगत्तै, विजयी उम्मेदवारले सोही दिन राजपरिवारको प्रमुखलाई भेटेर प्रधानमन्त्रीको रूपमा शपथ लिन्छन्। यो काम केही घण्टामा नै सम्पन्न हुन्छ।

    भारतमा पनि नतिजा घोषणा भएपछि बहुमत प्राप्त गर्ने दल वा गठबन्धनको नेतालाई प्रधानमन्त्री बन्न आमन्त्रित गरिन्छ। प्रधानमन्त्रीलाई भारतका राष्ट्रपतिले शपथ खुवाउँछन्। यसपछि शक्ति हस्तान्तरणको प्रक्रिया पूरा भएको मानिन्छ र नयाँ सरकारले काम गर्न थाल्छ। तर अमेरिकामा यस्तो हुँदैन। त्यहाँ शक्ति हस्तान्तरणको प्रक्रिया पूरा हुन ७२ देखि ७८ दिन लाग्छ। यस पटक अमेरिकामा सत्ता हस्तान्तरण गर्न ७५ दिन लागेको छ। यति धेरै दिन लाग्नु पछाडिको सबैभन्दा ठुलो कारण चाहिँ अमेरिका एक विशाल देश भएकोले हो।

    अमेरिका १७७६ मा स्वतन्त्र भयो। त्यतिबेला अधिकांश जनसङ्ख्या दुर्गम क्षेत्रमा बसोबास गर्थे। यातायातका साधन खासै थिएनन्। बाटाघाटा पनि साह्रै दुर्गम थिए। चुनाव पछि मतगणना, मतदाताहरूको बैठक र कांग्रेससम्म मत पुग्न धेरै समय लाग्थ्यो। त्यसैले मतदान र शपथ ग्रहणबिच लामो अन्तर राखियो । सुरुवाती दिनहरूमा यो अन्तर ४ महिना अर्थात् १२० दिनको थियो।

    अघिल्लो वर्षको नोभेम्बरमा चुनाव सम्पन्न भएपछि अमेरिकामा पहिलो राष्ट्रपतिको कार्यकाल १७८९ मा अप्रिल ३० मा सुरु भएको थियो। दोस्रो राष्ट्रपतिको कार्यकाल १७९३ को मार्च ४ मा सुरु भयो र यो त्यतिबेलाको अभ्यास बन्यो । १९३३ मा राष्ट्रपति फ्रयाङ्कलिन डी. रुजवेल्टको शपथ ग्रहण अघि, संविधानको २० औँ संशोधनले प्रत्येक कार्यकालका लागि जनवरी २० लाई सुरुवात मितिको रूपमा स्थापित गरेका थिए।

    नयाँ राष्ट्रपतिले ४ हजारभन्दा बढी राजनीतिक नियुक्ति गर्नुपर्नेछ। यीमध्ये लगभग हजार जनाको नियुक्तिका लागि सिनेटको अनुमोदन चाहिन्छ। नयाँ कर्मचारीहरूका लागि कार्यालय र इमेल आइडी बनाउनुपर्छ। उनीहरूलाई नयाँ जिम्मेवारीबारे जानकारी दिइन्छ। राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा नीतिको बारेमा जानकारी गराइन्छ। यो सबै काम पूरा हुन समय लाग्छ, त्यसैले शक्ति हस्तान्तरणका लागि २ महिनाको समयावधि तोकिएको हो।

    सामान्यतः चुनावपछि नोभेम्बरदेखि नै सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुन्छ। तर २०२० मा यो भएन। ट्रम्पले चुनाव भएको ३ हप्तापछिसम्म सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुन दिएनन्।

    तर यसो गर्ने ट्रम्प पहिलो राष्ट्रपति थिएनन् । १९३३ मा पनि यस्तै भएको थियो। अघिल्लो वर्ष नोभेम्बरमा भएको चुनावमा डेमोक्रेटिक पार्टीका फ्र्याङ्कलिन रुजवेल्टले रिपब्लिकन पार्टीका हर्बर्ट हूवरलाई पराजित गरे । त्यतिबेला अमेरिकामा आर्थिक मन्दी चलिरहेको थियो। मन्दीसँग जुध्न रुजवेल्टले केही घोषणाहरू गरेका थिए। तर हूवरले ती घोषणालाई मन पराएनन्।

    रुजवेल्टलाई उनका योजनामा ​​काम गर्नबाट रोक्न हूवरले शक्ति हस्तान्तरणमा ढिलाइ गरिरहे। त्यतिबेला सत्ता हस्तान्तरणको समय पनि ४ महिना थियो। यो घटनापछि शक्ति हस्तान्तरण गर्ने समय अवधि घटाएर साढे दुई महिनामा झारियो। एजेन्सी