काठमाडौँ– पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने तयारीमा छन्। उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन्।
शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज बिहान ओलीसँग फोन संवाद गरेको उनले बताए।
अब हामी नअल्मलिने भयौँ, एमालेमै जाने भयौँ’, कार्कीले भने । पार्टीको यस्तो तयारीसँग असन्तुष्ट चार जनाले पार्टी छाडेको पनि उनले बताए। उनका अनुसार, एकता अभियानमा सरिक भएका महेन्द्र अर्याल, हरि काफ्ले, इन्द्र सुब्बा र डिल्लीराज भट्टले एकीकृत समाजवादीसँग एकता हुनुपर्ने अडान लिएका थिए। एमालेमा जाने भएपछि उनीहरूले अभियानबाट अलग भएको घोषणा गरेका हुन्।
एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण संवाद समाप्त भएको कार्कीले बताए।
लामो समय गौतमको प्रेस सहयोगीको भूमिकामा रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले शुक्रबार पार्टी र संगठन परित्याग गरी एमालेमा प्रवेश गरेका थिए। उनी प्रवेश गरेलगत्तै ओलीले गौतमलाई छलफलका निम्ति बालुवाटार बोलाएका थिए। कार्कीका अनुसार, त्यही दिनको कुराकानीमा सबै कुरा टंगो लागेको र आज विहानको कुराकानीपछि एकता गर्ने कुरा पक्कापक्की भएको हो।