गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमायो, ओलीले राजीनामा दिँदा उचित हुन्छ : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-06-29
  • 03:37:41
  • आइतबार,आषाढ १४, २०८३
  • गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमायो, ओलीले राजीनामा दिँदा उचित हुन्छ : अध्यक्ष प्रचण्ड

    गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमायो, ओलीले राजीनामा दिँदा उचित हुन्छ : अध्यक्ष प्रचण्ड

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

    विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताए। यस्तै विपक्षी ६ दलले गठबन्धनले सत्ता सञ्चालनको नैतिक आधार गुमाएको निष्कर्ष निकालेका छन्।

    शुक्रबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेसपा र राजमोको संयुक्त बैठकले गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाएको बताएका हुन् । विपक्षी दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सहकारी पीडितहरूलाई न्याय दिनुको साटो उल्टै थप पीडा दिने किसिमले सहकारी अध्यादेश जारी गरिएको छ।

    उनीहरुले बहुमतको दम्भमा सरकारले एकपछि अर्को चाल्दै आएका यस्ता कैयन् जनविरोधी कार्यको जनस्तरबाटै चर्को विरोध हुन थालेपछि संसदमा प्रतिरक्षा गर्न नसकी अध्यादेशको भर पर्नुपर्ने अवस्थाले सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको प्रष्ट भएको बताएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा उचित हुने बताए।

    विपक्षी दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधन प्रधानमन्त्री आफैँले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन आदि इत्यादिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रूपमा सरकारमा बस्ने आधार गुमाएको छ। नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ। यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन।’