संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-06-29
  • 03:39:44
  • आइतबार,आषाढ १४, २०८३
  • संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : अध्यक्ष प्रचण्ड

    संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको बताएका छन् ।

    चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका हुन्।

    यस्तै उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ ‘संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ।’

    दुर्घटनाबाट देशलाई बचाउन उनले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गरे। प्रचण्डले आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर गरे।

    ‘मेरो सरकार हुँदा केही सकारात्मक पहल भएका थिए। त्यही सन्दर्भमा निकै अप्राकृति, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बन्यो,’ प्रचण्डले भने, ‘सरकार बनेयता गरेका कामहरू संविधान र लोकतन्त्रको मर्यादा विपरीत धेरै काम भएका छन्।

    सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरित भएको प्रचण्डको भनाइ थियो।

    ‘अध्यादेशको जो लाइन लगाउन खोजिएको छ। सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित हो,’ प्रचण्डले भने।

    समितिमै विचाराधिन रहेको विधेयकलाई पनि वास्ता नगरि सरकारले अध्यादेश ल्याएको भन्दै प्रचण्डले त्यसप्रति आपत्ति जनाए।

    ‘विधेयक सदनमा प्रस्तुत भयो, सदनको फुल हाउसबाट समितिमा पठाइयो। त्यो विधेयक अहिले समितिमै छ। त्यस्तो विधेयक पनि फिर्ता लिएर अध्यादेश बनाउने दुस्साहस भएको छ,’ प्रचण्डको भनाइ छ।