काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन्।
आज (बुधबार) सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने बताए।
बैठकमा सहभागी एक नेताले बताए अनुसार, आजको बैठकमा सबैभन्दा धेरै समय लिएर नेपालले नै बोलेका थिए।
उनले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको पनि बताएका छन्।
अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ। असन्तुष्टि भित्रभित्रै चरम रुपमा बढेको छ,’ अध्यक्ष नेपालले बोलेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रुपमा सेटल गर्नुपर्छ। अन्यथा अर्को लाइनमा जान सक्छ। मुलुकमा अर्को अप्ठेरो आउनसक्छ।’
संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरुप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने बताए।
‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जानसक्छ,’ नेपालले भनेका छन्।
उथलपुथलबाट रोक्न अब विपक्षी दलहरू एक हुनुपर्ने बताउँदै उनले अन्य साना दलहरूलाई विपक्षी मोर्चामा ल्याउनेबारे भइरहेको प्रयास पनि चर्चा गरेका थिए।