काठमाडौँ– विश्वविद्यालयका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने सहमति भएको छ । आज (शुक्रबार) राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको बैठकमा विश्वविद्यालयका अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति भएको हो।
समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका क्रममा उक्त विषयमा सहमति भएको हो।
कानुन शिक्षाको मापदण्डका सम्बन्धमा विश्वविद्यालयको अधिकार क्षेत्र, स्वायत्तता र पाठ्यक्रम निर्माणमा विश्वविद्यालयले प्रयोग गर्ने प्राज्ञिक दृष्टिकोण हनन् गर्न नहुने विषयमा विस्तृत छलफलपश्चात् उक्त सहमति भएको हो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानुन शिक्षाको मापदण्डका विषयमा मन्त्रालयमा थप छलफल गरी अर्को बैठकमा धारणा प्रस्तुत गरिने बताए।
समिति सभापति तुलसाकुमारी दाहालले कानुन शिक्षाको मापदण्डलाई व्यवस्थित र थप प्रभावकारी बनाउने विषयमा अर्को बैठकमा पुनः छलफल गरिने बताइन्। समितिका सदस्यहरूले कानुन शिक्षाको मापदण्डका विषयमा सहजीकरण गर्नुपर्नेबारे राय व्यक्त गरेका थिए।
उक्त विधेयकमा मुख्य गरी ‘लयर्स एकेडेमी स्थापना’, लाइसेन्स लिइसकेका कानुन व्यवसायीहरूलाई तालिम र कानुन शिक्षाको मापदण्डका विषयमा व्यवस्था गरिएको छ।