आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण - Chaitanya News
  • 2026-07-17
  • 00:41:13
  • बिहिबार,आषाढ ३२, २०८३
  • आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण

    आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

    आज बिहीबार) प्रधानमन्त्री निवास, बालुवाटारमा भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा–बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने समेत बताए।

    प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सृजना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यालयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे।

    प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाहरूको उचित जगेर्ना गर्ने पनि स्पष्ट गरे।

    बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए।

    उपकुलपति प्रा. डा. धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिहरुको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञान विज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।