विद्यार्थी संगठनले गरेको पुस्तान्तरणको कदम ऐतिहासिक - Chaitanya News
  • 2026-06-29
  • 07:27:09
  • सोमबार,आषाढ १५, २०८३
  • विद्यार्थी संगठनले गरेको पुस्तान्तरणको कदम ऐतिहासिक

    विद्यार्थी संगठनले गरेको पुस्तान्तरणको कदम ऐतिहासिक

    काठमाडौँ– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू गर्नु पुस्तान्तरणका लागि ऐतिहासिक र क्रान्तिकारी कदम भएको बताएका छन्।

    पार्टीमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व छाड्नुपर्ने भन्दै लिखित प्रस्ताव अघि सारेका शर्माले विद्यार्थीको कदमलाई समर्थन गरेका हुन् ।

    शर्माले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो । यसले झण्डै ४० लाख मतदाताको मनोविज्ञानलाई समेट्नेछ ।’

    पार्टी निर्माण गर्ने बाटो आफैँ जोखिमपूर्ण भएको भन्दै उनले इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टतासहित लागेमा मात्रै सम्भव हुने बताए ।

    उनले अगाडि लेखेका छन्, ‘पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट(विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन । एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो ।’