प्रधानमन्त्रीले भने: स्थानीय सरकारलाई अधिकार दिन्छौँ - Chaitanya News
  • 2026-06-29
  • 07:29:13
  • सोमबार,आषाढ १५, २०८३
  • प्रधानमन्त्रीले भने: स्थानीय सरकारलाई अधिकार दिन्छौँ

    प्रधानमन्त्रीले भने: स्थानीय सरकारलाई अधिकार दिन्छौँ

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षण पत्र बुझाएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

    प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ।

    यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आकार वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।

    प्रधानमन्त्री ओलीले संविधान बमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।