काठमाडौँ– नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन भोलिदेखि सुरु हुने भएको छ । सम्मेलन नवलपुरमा हुने भएको छ।
पुस १२ र १३ गते नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुन लागेको सम्मेलन संयोजक भागरिथ सापकोटाले जानकारी दिए। उनका अनुसार सम्मेलनमा वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे छलफल हुनेछ।
सम्मेलनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ। सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा पनि आउने संयोजक सापकोटाले बताए।
सम्मेलनमा देशको सबल अर्थतन्त्रका लागि ५ वटा आधारस्तम्भ ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र कच्चा पदार्थमा आधारित उद्योगहरूका बारेमा छलफल हुने संयोजक सापकोटाले बताए।
महासंघका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा। तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिइने बताए। सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहने भट्टराईले जानकारी दिए।