काठमाडौँ– नेपाली काँग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली काँग्रेसले बीपी कोइरालाका विचार अंगालेर अघि बढ्न जरुरी रहेको बताएका छन्।
आज (बुधबार) नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए।
‘हाम्रो समाज हजारौँ वर्षदेखि चलिआएको समाज हो। त्यो समाजको निरन्तरता हामीले दिने हो। बीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ,’ उनले भने।
समाजका लागि सोचे मात्रै राजनीति हुने बताउँदै उनले आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ।
नेपाली समाज बर्सौँ पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको कोइरालाको भनाइ थियो।
‘आज मान्छेले बीपी कोइरालालाई किन सम्झिन्छन्, उहाँ करोडपति वा अर्बपति त हुनुहुन्नथ्यो। किनभने उहाँले आफ्नो जीवन यस्तो प्रयोग गर्नुभयो,’ उनले भने, ‘उहाँले आफ्नो जीवन अरूका लागि व्याप्त गर्नुभयो। मान्छेले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ। आफ्नो बारेमा मात्र चिन्ता गरेर त्यस्तो राजनीति चल्दैन।