१. पुँजी निर्माण भनेको के हो ? यसको महत्व उल्लेख गर्दै पुँजी निर्माणका चरणहरू माथि सङ्क्षिप्तमा प्रकाश पार्नुहोस् । साथै पुँजी निर्माणमा सरकारको भूमिका कस्तो रहन सक्छ ? सोसमेत उल्लेख गर्नुहोस् ।
पुँजी निर्माणको महत्व :
– उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकको आर्थिक वृद्धिमा टेवा पु¥याउन,
– मुलुकभित्र रोजगारीका अवसरहरू सिर्जना गरी बेरोजगारी समस्या सम्बोधन गर्न,
– नवीन प्रविधिको विकास गरी कार्यकुशलता र दक्षता अभिवृद्धि गर्न,
– आयस्तर वृद्धि गरी नागरिकको जीवनस्तर माथि उकास्न,
– अर्थतन्त्रमा वस्तु तथा सेवाको मागमा वृद्धि गर्न,
– राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाई परनिर्भरता कम गर्न ।
पुँजी निर्माणको प्रक्रिया :
– पुँजी निर्माण मूलतः तीन तहमा हुन्छ । जसलाई निम्न प्रक्रियागत चरणहरूबाट स्पष्ट पार्न सकिन्छ ।
क) बचत सिर्जना : पुँजी निर्माणको पहिलो तह नै बचत सिर्जना गर्नु हो । यो कार्य जनस्तरमा हुन्छ । व्यक्तिले आफ्नो आम्दानीमध्ये निश्चित अंश उपभोगमा लगाई बाँकी रकम बचत गर्छन् । बचतलाई प्रतिव्यक्ति आय, मुद्रास्फीति, वित्तीय साक्षरताको अवस्था, बैङ्क तथा वित्तीय संस्थाको उपलब्धता, व्यक्तिको इच्छाशक्ति, बचत गर्ने बानी, पारिवारिक तथा सामाजिक मूल्य मान्यता जस्ता तत्वले असर गर्छन् ।
ख) बचत सङ्कलन र परिचालन : पुँजी निर्माणको दोस्रो चरणमा बचत सङ्कलन र परिचालन पर्छ । बैङ्क तथा वित्तीय संस्था, कम्पनी, गैरबैङ्किङ वित्तीय कारोबार गर्ने संस्था, बिमा कम्पनी, सहकारीले बचत सङ्कलन र परिचालनको कार्य गर्छन् । बिमा कम्पनीले बिमा पोलिसी बिक्री गरेर, पब्लिक कम्पनीहरूले सेयर बिक्री गरेर, सरकारले ऋणपत्र जारी गरेर, व्यक्ति तथा कम्पनीले पुँजी बजारमा सेयर तथा ऋणपत्र खरिद गरेर पुँजी परिचालनको काम गरिरहेका हुन्छन् । ठुलो मात्रामा बचत परिचालनको लागि सुदृढ पुँजी बजारको विकास हुन आवश्यक मानिन्छ । यस्तो अवस्थामा बैङ्क बचतबाहेक ऋणपत्र, सेयरलगायत पुँजी बजारका औजारमार्फत ठुलो मात्रामा पुँजी परिचालन गर्न सकिन्छ ।
ग) पुँजीगत सामान तथा पूर्वाधारमा लगानी : पुँजी निर्माणको अन्तिम चरण लगानी हो । प्रतिफलयुक्त परियोजनामा गरिने लगानीले थप पुँजी सिर्जनामा सहयोग गर्छ । व्यक्तिले आफ्नो बचत रकम, कम्पनीले स्वपुँजी वा ऋण तथा सरकारले आफ्नो राजस्व, वैदेशिक अनुदान वा ऋण र आन्तरिक ऋणसमेतबाट स्रोत व्यवस्था गरी पुँजीगत मालसामान वा प्रविधि खरिद एवं पूर्वाधार निर्माणमा लगानी गर्न सक्छन् । पुँजीको लगानीबाट पुँजी वृद्धि गर्ने कार्य नै पुँजी निर्माण भएकाले पुँजी निर्माणका लागि लगानी अत्यावश्यक मानिन्छ ।
पुँजी निर्माणमा सरकारको भूमिका :
– पुँजी निर्माणका तीन वटै चरणमा सरकारको भूमिका रहन्छ । निजी क्षेत्रबाट हुने पुँजी निर्माणका लागि समेत सरकारले लगानीको वातावरणमा सुधार गर्नु पर्छ । पुँजी निर्माणमा सरकारको भूमिका निम्न अनुसार रहन सक्छ ।
– बचत तथा लगानीसम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,
– सुदृढ पुँजीबजार विकास गर्ने,
– वित्तीय प्रणालीको नियमन गर्ने,
– लगानीका नवीन औजार र ढाँचाहरू विकास गर्ने,
– सरकारी ऋणपत्रमा लगानी गर्न आमनागरिकलाई आकर्षित गर्ने,
– बचतका लागि प्रोत्साहन गर्न कर छुट तथा सहुलियत प्रदान गर्ने, विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन गर्ने,
– उपलब्ध स्रोतलाई दिगो, गुणस्तरीय र प्रतिफलयुक्त पूर्वाधारमा लगानी गर्ने,
– सार्वजनिक संस्थानको माध्यमबाट सरकारी लगानीलाई पुँजी निर्माणमा उपयोग गर्ने,
– बृहत् र रणनीतिक महत्वका पूर्वाधार आयोजना निर्माण गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने,
– अन्त्यमा बचत र लगानी पुँजी निर्माण प्रक्रियाका प्रमुख अवयव हुन् । मुलुकको आर्थिक विकासका लागि पुँजी निर्माणको महत्व उच्च छ । सरकारले नीतिगत सहजीकरण, नियामकीय भूमिका निर्वाह तथा उत्पादनमूलक परियोजनामा उपलब्ध स्रोत परिचालन गरी पुँजी निर्माण कार्यमा योगदान गर्न सक्छ ।
२. वित्तीय हस्तान्तरणका आधारभूत मान्यता र यसको महत्व उल्लेख गर्दै नेपालको संविधानले वित्तीय हस्तान्तरणलाई के कसरी निर्देशित गरेको छ ? विद्यमान संवैधानिक व्यवस्थाहरू प्रस्तुत गर्नुहोस् । नेपालको तीन तहको सङ्घीय संरचनामा वित्तीय हस्तान्तरणका सम्बन्धमा देखा परेका समस्या उल्लेख गर्नुहोस् ।
वित्तीय हस्तान्तरणका आधारभूत मान्यताहरू :
– अनुदानको स्पष्ट उद्देश्य निर्धारण,
– उद्देश्य अनुकूलको हस्तान्तरण ढाँचा निर्धारण,
– वित्तीय हस्तान्तरण लागि सरल, पारदर्शी र वस्तुनिष्ठ आधारहरू तय,
– स्वविवेकीय र सौदावाजीपूर्ण हस्तान्तरण निरुत्साहित गर्दै सूत्रमा आधारित समानीकरण प्रणालीको विकास,
– तल्ला तहका सरकारलाई उच्च कार्यसम्पादन नतिजा र प्रतिस्पर्धाका लागि प्रोत्साहन,
– नकारात्मक प्रोत्साहनको न्यूनीकरण,
– अनुमानयोग्य हस्तान्तरण,
– स्रोत वितरणमा समन्यायिकता,
– सङ्घीय एकाइहरूको वित्तीय स्वायत्ताको सम्मान र संरक्षण,
– वित्तीय हस्तान्तरणको आवधिक लेखाजोखा र पुनरवलोकन ।
वित्तीय हस्तान्तरणको महत्व :
– तहगत सरकारको खर्च जिम्मेवारी र राजस्व क्षमताबिचको अन्तर सम्बोधन गर्न,
– बृहत् राष्ट्रिय तथा तहगत सरकारले निर्धारण गरेका नीति तथा प्राथमिकता कार्यान्वयनको लागि स्रोतको व्यवस्था गर्न,
– राष्ट्रिय स्तरमा निर्धारित वा प्रदेश तथा स्थानीय तहले निर्धारण गरेका लक्ष्य वा उद्देश्य हासिल गर्न,
– एकल र साझा अधिकारको रूपमा संविधानमा उल्लिखित जिम्मेवारी सम्पादन गर्न,
– नागरिकलाई गुणस्तरीय सेवा सुविधा उपलब्ध गराई राज्यको जिम्मेवारी पूरा गर्न,
– दिगो, सन्तुलित र समावेशी विकासलाई प्रोत्साहन गर्न,
– प्रदेश र स्थानीय तहमा राष्ट्रिय मानक स्थापित गर्न,
– तहगत अन्तरसम्बन्धलाई सुमधुर बनाउन,
– प्रदेश र स्थानीय तहको स्वायत्तताको सम्मान गर्दै विनियोजन दक्षता अभिवृद्धि गर्न,
– सङ्घले सङ्कलन गरेको वित्तीय स्रोतलाई स्थानीय आवश्यकता र प्राथमिकता अनुरूप विनियोजन गरी स्थानीय विकास र सेवा प्रवाहमा खर्च गर्न,
– सङ्घीय व्यवस्थाप्रति आमनागिरकको अपनत्व सिर्जना गरी सङ्घीयताको सफल कार्यान्वयन गर्न,
वित्तीय हस्तान्तरणसम्बन्धी संवैधानिक व्यवस्था :
– नेपालको संविधानको धारा ६० र धारा २५१ मा वित्तीय हस्तान्तरण र यसलाई पारदर्शी, समन्यायिक एवं विश्वसनीय बनाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको जिम्मेवारीसम्बन्धी विषय उल्लेख गरिएको छ । संविधानमा रहेको व्यवस्था बुँदागत रूपमा निम्न अनुसार प्रस्तुत गरिएको छ ।
– नेपाल सरकारले सङ्कलन गरेको राजस्वको न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउने,
– प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेबमोजिम हुने,
– नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने,
– स्थानीय तहको खर्च आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेशले प्रदेश कानुनबमोजिम आफू अन्तर्गतका स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने,
– नेपाल सरकारले सङ्घीय सञ्चित कोषबाट प्रदान गर्ने ससर्त अनुदान, समपूरक अनुदान, वा विशेष अनुदान वितरणसम्बन्धी व्यवस्था सङ्घीय कानुनबमोजिम हुने,
– सङ्घ, प्रदेश र स्थानीय तहबिच राजस्वको बाँडफाँट गर्दा सन्तुलित र पारदर्शी ढङ्गले गर्ने,
– राजस्व बाँडफाँटसम्बन्धी सङ्घीय ऐन बनाउँदा राष्ट्रिय नीति, प्रदेश र स्थानीय तहको स्वायत्तता, क्षेत्रीय सन्तुलन, वञ्चितीकरणको अन्त्य, आकस्मिक कार्यलगायतका विषयमा ध्यान दिनुपर्ने,
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आगोगले राजस्व बाँडफाँटका विस्तृत आधार र ढाँचा निर्धारण गर्ने,
– आयोगले प्रदेश तथा स्थानीय तहलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने,
– आयोगले ससर्त अनुदानको विषयमा अध्ययन अनुसन्धान गरी आधार तयार गर्ने,
– आयोगले सङ्घ र प्रदेशको राजस्व बाँडफाँट आधारको पुनरवलोकन गरी परिमार्जनको सिफारिस गर्ने,
– अन्त्यमा नेपालको सङ्घीयताको केन्द्र भागमा वित्तीय हस्तान्तरण रहेको छ । सङ्घीयता कार्यान्वयनको प्रमुख साधन नै वित्तीय हस्तान्तरण हो । वित्तीय हस्तान्तरणलाई थप समन्यायिक, पारदर्शी र तथ्यमा आधारित बनाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई संवैधानिक मर्मबमोजिमको जिम्मेवारी प्रदान र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने देखिन्छ ।
३. नेपाल राजपत्रको परिचय दिई यसको महत्व उल्लेख गर्नुहोस् ।
क) संविधान वा संविधान सरहका घोषणापत्र, भागः १
ख) ऐन वा अध्यादेश, भागः २
ग) नियम, नेपाल सरकारले जारी गरेका आदेश वा अधिकारपत्र, भागः ३
घ) संविधान अन्तर्गतका नियुक्ति वा अन्य सूचना,
भागः ४
ङ) ऐन, नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णयबमोजिम राजपत्रमा प्रकाशन गर्नुपर्ने सूचना,
भागः ५
च) नेपाल पक्ष भएका सन्धि, भागः ६ ।
नेपाल राजपत्रको महत्व :
– नेपालका ऐन, नियम, राष्ट्रप्रमुखबाट जारी हुने आदेश वा सरकारका महत्वपूर्ण सूचनाहरू सर्वसाधारणलाई जानकारी गराउन,
– सुसूचित हुने नागरिक हकको सम्मान गर्न,
– महत्वपूर्ण सरकारी निर्णयलाई वैधानिकता दिन,
– राजकीय पदहरूमा हुने महत्वपूर्ण नियुक्ति सार्वजनिक गर्न, सरकारी क्रियाकलापलाई पारदर्शी बनाउन,
– नयाँ कानुन निर्माण, कानुनमा भएको संशोधन
तथा खारेजीको आधिकारिक जानकारी एउटै माध्यमबाट गराउन,
– नेपाल सरकारले विदेशी राष्ट्रसँग गरेका सन्धिको प्रकाशन गरी नागरिकलाई सुसूचित गर्न ।
– अन्त्यमा नेपालका ऐन, नियम, सरकारले जारी गर्ने आदेश तथा अधिकारपत्र र सरकारका महत्वपूर्ण सूचनाको खुलासा गर्ने आधिकारिक माध्यम नेपाल राजपत्र हो । नेपालको कानुनले सार्वजनिक लिखत प्रमाणीकरण भएपश्चात् राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाले सरकारी निर्णय प्रव्रिmया र कामकारबाहीलाई पारदर्शी बनाउन मद्दत गर्छ ।
४. निजामती कर्मचारीको नियुक्ति भन्नाले के बुझिन्छ ? निजामती सेवा ऐन, २०४९ मा निजामती सेवाको पदमा नियुक्ति सम्बन्धमा के कस्ता प्रावधान रहेका छन् ? उल्लेख गर्नुहोस् ।
निजामती सेवा ऐनमा नियुक्ति सम्बन्धी प्रावधानहरू :
– खुला प्रतियोगिता वा आन्तरिक प्रतियोगिताद्वारा पूर्ति हुने पदमा लोक सेवा आयोगको सिफारिसमा नियुक्ति गरिने, निजामती सेवाको राजपत्राङ्कित पदमा नेपाल सरकारले नियुक्त गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित हुने,
– निजामती सेवाको राजपत्र अनङ्कित पदमा विभागीय प्रमुखले नियुक्ति गर्न सक्ने,
– कार्यालय प्रमुखले आफ्नो र आफ्नो मातहतका कार्यालयमा राजपत्र अनङ्कित र श्रेणीविहीन पदमा नियुक्ति गर्न सक्ने,
– महिला कर्मचारीको हकमा छ महिना र पुरुष कर्मचारीको हकमा एक वर्ष परीक्षणकाल रहने गरी नियुक्ति गरिने,
– परीक्षणकालमा निजको कार्य सन्तोषजनक नभएमा नियुक्ति बदर गर्न सकिने,
– परीक्षणकालमा नियुक्ति बदर नभएमा स्वतः सदर भएको मानिने,
– निजामती सेवाका पदमा स्थायी नियुक्ति पाई परीक्षणकाल व्यतीत गरेका कर्मचारी पटक पटक परीक्षण कालमा रहनु नपर्ने,
– प्रथम पटक नियुक्ति पाई कार्यभार समाल्नु अगाडि प्रत्येक निजामती कर्मचारीले शपथग्रहण गर्नुपर्ने ।
– अन्त्यमा छनोट भएका जनशक्तिलाई निजामती सेवामा भर्ना गर्ने कार्य नै नियुक्ति हो । नेपालको संविधानले निजामती सेवामा योग्यतातन्त्रको संरक्षण गर्ने जिम्मेवारी लोक सेवा आयोगलाई प्रदान गरी निजामती कर्मचारी नियुक्ति प्रक्रियामा सरकारको तजबिजी अधिकार नरहने विषय प्रस्ट पारेको छ । निजामती सेवा ऐनले निजामती सेवाका पदमा नियुक्तिका लागि योग्यता, नियुक्ति प्रक्रिया, परीक्षण काल, शपथग्रहण जस्ता विषयहरू उल्लेख गरेको छ ।
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100