काठमाडौँ– एकैदिन ९ कम्पनीको लाभांश तथा साधारणसभासम्बन्धी घोषणा भएका छन्। आज (बिहीबार) दोस्रो बजारमा सूचीकृत कम्पनीले सो सम्बन्धमा निर्णय गरेको नेपाल स्टक एक्सचञ्जले जनाएको छ।
यसरी निर्णय गर्ने कम्पनीहरुमा शिवम् सिमेन्ट, विजय लघुवित्त, कृषि विकास बैंक, माउन्टेन हाइड्रो, राप्ती हाइड्रो, मञ्जुश्री फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्। शिवम् सिमेन्टले ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
शिवमले यही पुस २९ गते बिहान ९ बजो राष्ट्रिय सभागृहमा बस्नेगरी साधारणसभा बोलाएको छ। यसका लागि पुस १७ गते बुक क्लोजको मिति तय गरिएको छ। सर्वोत्तम सिमेन्टले यो वर्ष ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
उक्त कम्पनीले पुस २६ गते भैरहवास्थित एक होटलमा बस्नेगरी साधारणसभा बोलाएको छ। साधारणसभा प्रयोजनको लागि पुस १२ गतेलाई बुक क्लोजको मिति तय गरिएको छ।
मञ्जुश्री फाइनान्सले पुस २८ गतेका लागि साधारणसभा बोलाएको छ। यसअघि नै ६।३५ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीले साधारणसभा बोलाउँदै पुस ११ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ।
बुटवल पावर कम्पनीले पनि पुस २८ का लागि साधारणसभा बोलाएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गतेका लागि बुक क्लोजको मिति समेत तोकेको छ। कम्पनीले यसअघि नै ५ प्रतिशत नगद लाभांशको घोषणा गरिसकेको छ।
कृषि विकास बैंकको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ। बैंकले साधारणसभाको मिति घोषणा गर्न बाँकी छ।
माउन्टेन हाइड्रोले यसपटक कुनै पजि लाभांश घोषणा नगरी साधारणसभा बोलाएको छ। एक्त कम्पनीले पुस २४ गतेका लागि साधारणसभा बोलाएको हो। यसका लागि पुस ११ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ।
विजय लघुवित्तले पनि यसपटक कुनै लाभांश घोषणा गरेको छैन । बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश बिना नै साधारणसभा बोलाउनेगरी राष्ट्र बैंकको स्वीकृति लिने निर्णय गरेको हो।
गणपति लघुवित्तले पनि यसपटक कुनै पनि लाभांश नदिने भएको छ। यो प्रस्तावसँगै साधारणसभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिनेछ। प्रादेशिक स्तरको विकास बैंकको रुपमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंकले यसपटक कुनै पनि लाभांश नदिने प्रस्ताव गर्दै साधारणसभा बोलाउन बैंकले राष्ट्र बैंकबाट स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको जनाएको छ।
कम्पनी ऐनको व्यवस्था बमोजिम प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ। साधारणसभाभन्दा कम्तीमा २१ दिनअघि साधारणसभा आह्वान गर्नुपर्ने भएकोले लाभांश घोषणा तथा साधारणसभा आह्वानको क्रम बढ्दै गएको छ।