काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिनको रूपमा रहेको बताएका छन्।
आज (सोमबार) काठमाडौँमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिनको रूपमा रहेको बताएका हुन्।
२०१७ साल पुस १ गते जननिर्वाचित संसद्लाई भंग गरेर निरकुश पञ्चायती व्यवस्थाको घोषणा भएको थियो। यसकारण यो दिन नेपालको संसदीय इतिहासमा कालो दिनको रूपमा रहेको सभामुख घिमिरेले बताए।
‘राजाले कू गरेको कालो दिन। त्यो दिन जनताका मौलिक अधिकारहरू सम्पूर्ण रूपमा खोसिएको दिन हो,’ सभामुख घिमिरेले २०१७ साल पुस १ गतेको दिनको सम्झना गर्दै भने। संसद सर्वोच्च निकाय भएको र २०१७ सालमा खोसिएको यो व्यवस्था जनताले ३० वर्ष पछि फेरि फर्काएको उनले बताए।
नेपालमा पञ्चायती व्यवस्था २०१७ साल पुस १ गतेदेखि २०४६ साल चैत २६ गतेसम्म चल्यो। शाही घोषणाबाट निर्वाचित सरकार तथा संसद विघटन गरी निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा गरिएको थियो। त्यसपछि राजनीतिक दलमाथि प्रतिबन्ध, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूलाई जेल हालिएको थियो। यसरी सुरु भएको पञ्चायती व्यवस्था हटाउनका लागि विभिन्न राजनीतिक दलहरूले सशस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरू गरिरहेका थिए।
२०४६ सालमा संयुक्त जनआन्दोलन भएपछि पञ्चायती व्यवस्था ढल्यो र २०४६ साल चैत २६ गते नेपालमा बहुदलीय व्यवस्थाको घोषणा भएको थियो। त्यसपछि यता नेपाल निरन्तर संसदीय शासन प्रणालीमा छ।