काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले विभाजित कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने नाममा ‘समाजवादी मोर्चा’ बनाउन गरिएको प्रयत्नलाई अपरिपक्व प्रयासको संज्ञा दिएका छन्।
२०८० असारमै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका ‘विप्लव’ लगायतका नेताहरूले ‘समाजवादी मोर्चा’ गठन गरिसकेको अवस्थामा नेता खनालले यसलाई ‘अपरिपक्व’ प्रयास भनेका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले जारी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो तात्कालिक कार्ययोजना’ शीर्षकको प्रस्तावमा मोर्चाको कडा विरोध गरेका छन्।
उनले विभिन्न समूहमा विभक्त वामपन्थी समूहहरूलाई कसरी साझा सवालमा एक ठाउँ ल्याउन वा बाम एकता निर्माण गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको समेत बताएका छन्।