‘नेता–कार्यकर्ता प्रदेश र केन्द्रमा केन्द्रित हुँदा माओवादीको स्थानीय संगठन कमजोर’ - Chaitanya News
  • 2026-06-29
  • 11:40:23
  • सोमबार,आषाढ १५, २०८३
  • ‘नेता–कार्यकर्ता प्रदेश र केन्द्रमा केन्द्रित हुँदा माओवादीको स्थानीय संगठन कमजोर’

    ‘नेता–कार्यकर्ता प्रदेश र केन्द्रमा केन्द्रित हुँदा माओवादीको स्थानीय संगठन कमजोर’

    काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको स्थानीयस्तरका संगठनात्मक कार्यहरू कमजोर भएको निष्कर्ष निकालेको छ। पार्टीका नेता कार्यहरूको ध्यान प्रदेश र केन्द्रतर्फका माथिल्ला कमिटीमा केन्द्रित हुने प्रवृत्ति देखिएकाले स्थानीयस्तरका कमिटी कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो।

    मंसिर २० गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहका समितिहरूको कार्यालय–पदाधिकारी गठन गर्दा महिला, दलित र मुस्लिम (समुदाय भएको स्थानमा) लाई प्राथमिकताका साथ समावेश गर्न निर्देशन दिएको छ।

    सोही निर्देशनसहितको सर्कुलरमा आवधिक निर्वाचनहरूको स्थितिलाई ध्यानमा राखी पार्टी संगठनको बिस्तार गर्दा स्थानीय स्तरमा जोड दिनुपर्ने आवश्यकता रहेको औँल्याइएको एक नेताले बताए।

    ‘तर पार्टी नेता–कार्यकर्ताहरूको वर्तमान स्थिति हेर्दा स्थानीय समितिहरूमा भन्दा पनि केन्द्र र प्रदेश लगायतका माथिल्ला समितिहरूमा केन्द्रित हुने प्रवृत्ति बढिरहेको देखिन्छ। त्यसले गर्दा स्थानीयस्तरका पार्टी समितिहरूका संगठनात्मक कार्यहरू कमजोर हुँदै गइरहेको सर्कुलरमा भनिएको छ’, ती नेताले भने।

    यो स्थितिलाई सुधार गर्नका लागि स्थानीय पार्टी अधिवेशनहरूले पार्टी केन्द्रीय समिति सदस्य र प्रदेश समिति सदस्य लगायतका माथिल्ला समितिका सदस्यहरूको जनस्तरसम्म संगठन बिस्तारका कार्यहरूमा जोडिने गरी कार्यविभाजनको गर्नेबारे आवश्यक सुझाव पठाउन समेत माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको एक नेताले बताए।

    माओवादीले स्थानीयस्तरको अधिवेशनहरू मंसिरभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।