काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको बताएका छन्।
आज (सोमबार) राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । यस्तै उनले बिचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको समेत बताए।
अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन। उनीहरूको राजनीति बिचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ। उनीहरू त खाली मुखौटा मात्रै हुन्,’ ‘प्रचण्ड’ले भने।
साथै, उनले रातको अँध्यारोमा बिचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गरे।
‘बिचौलियाहरूले घुमाएर, आ(आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ, नत्र राख्दैनौँ भनेर गरिएका मुखौटाहरूबाहेक केही पनि देखिएन,’ ‘प्रचण्ड’ले भने।
साथै, उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गरे।
‘अब फेरि जनताको तागत देखाउनुपर्ने भयो भनेर जनताको बीचमा गएर तागत केन्द्रिकृत गर्छु भनेको थिएँ। त्यही अनुसार हामी सबै प्रदेशमा गयौँ,’ ‘प्रचण्ड’ले भने।