काठमाडौँ– सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागले जनाएको छ।
सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए।
सोहीकारण विभागले मूल्य तुलना गर्न चाहेको उनको भनाइ छ। निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए। त्यसपछि विभागले उनीहरूलाई छलफलमा बोलाएको हो।