काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ। सो अंकको कमीपछि २७३४ मा कायम भएको छ। २ ५० बजे २७१८ अंकसम्म झरेको बजार अन्तिम १० मिनेटमा केही सम्हालिएको हो।
कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो। कारोबार रकम घटेको छ। अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो।
व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन्। व्यापार ३।६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे। होटल सेक्टर सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो। बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशत घटे।
खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। मानुसी लघुवित्तको ९.८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९ प्रतिशत मूल्य बढ्यो।
सपोर्ट माइक्रोफाइनान्सको ८.३, नेपाल फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.५ तथा तारागाउँ रिजेन्सीको मूल्य ६.१ प्रतिशत घट्यो। तारागाउँले आजै ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, रसुवागढी हाइड्रोपावर र जानाकी फाइनान्स क्रमशः अगाडि रहे।