जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : शंकर पोख्रेल - Chaitanya News
  • 2026-06-29
  • 11:40:18
  • सोमबार,आषाढ १५, २०८३
  • जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : शंकर पोख्रेल

    जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : शंकर पोख्रेल

    काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएका छन। ‘उपचुनावको परिणाम र शिक्षा’ भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

    ‘यस पटकको निर्वाचनमा आम रूपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ’, पोख्रेलले भनेका छन्।

    ४१ पदका लागि भएको उपचुनावमा एमाले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये एउटा सिटमा मात्रै आफ्नो उम्मेदवारलाई जिताउन सकेको छ। माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाएको छ। नेपाली काँग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाएको छ।

    साना दलहरूबाट जित्नेको अवस्था पनि त्यस्तै देखिएको एमाले महासचिव पोख्रेलको बुझाइ छ। जसपाले आफूले विगतमा जितेको गुमाएको र यसपटक नयाँ ठाउँमा चुनाव जितेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘स्वतन्त्रले जितेको ठाउँमा पनि स्वतन्त्रले जित्न सकेन। नयाँ ठाउँमा स्वतन्त्रले जितेको देखियो।

    यी विवरण उल्लेख गर्दै महासचिव पोख्रेलले जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजेको बताएका हुन्।

    उनले लेखेका छन्, ‘जनप्रतिनिधिको भूमिका प्रति स्थानीय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको गरेको देखिन्छ। यसवाट जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ।’

    उपचुनावको परिणाममा एमाले तेस्रो भएको भनेर प्रचार भइरहेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ।’

    तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्योभन्दा भिन्न देखिने महासचिव पोख्रेलले बताए।

    उपचुनाव भएका ४४ सिटमा नेपाली काँग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए। त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख–अध्यक्ष र ३ पालिका उपप्रमुखरउपाध्यक्षका साथै बाँकी वडाध्यक्ष रहेका थिए। त्यसपछि दोस्रोमा माओवादी केन्द्रले जितेका ८ सिट थिए। जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए।

    एमालेले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो। चुनावको परिणामलाई यसकै सेरोफेरोमा विश्लेषण गर्नुपर्ने एमाले महासचिव पोख्रेलको मत छ।

    समग्रतामा काँग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ। जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ। यस हिसाबले काँग्रेसले २ अध्यक्ष र ३ उपप्रमुखरउपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ।

    माओवादी केन्द्रले एक अध्यक्ष र एक उपाध्यक्ष र एक वडाध्यक्ष थप्न सफल भएको छ। यद्यपि माओवादीको जितमा विगतको चुनावमा काँग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन्। यहाँनेर एमाले महासचिव पोख्रेलले लेखेका छन्, ‘यद्यपि कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ।

    एमालेले विगतमा जितेका ७ वडाध्यक्षका ठाउँमा उसले एक अध्यक्ष, दुई उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको छ । गुमेको दुई वडाध्यक्षका ठाउँमा एक अध्यक्ष र दुई उपाध्यक्ष सहित तीन पदाधिकारी जित्न सफल भएको छ। यस हिसाबले एमालेका लागि पनि निर्वाचनको परिणाम सुधारोन्मुख नै देखिने महासचिव पोख्रेलले बताए।

    पार्टीको अपेक्षा अनुसार परिणाम आउन भने नसकेको उनले बताए। ‘तर नेकपा (एमाले)का स्थानीय कमिटीको योजना र अपेक्षा अनुरूप भने चुनावी परिणाम आउन सकेन। विशेष गरी राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन’, महासचिव पोख्रेलले भने।

    अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको उनको व्याख्या छ। यहाँनेर महासचिव पोख्रेलले लेख्छन्, ‘त्यसमाथि पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ।