काठमाडौँ– अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा पनि सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागितामै सीमित भएको छ।
उनका पार्टीका कुनै पनि उम्मेदवारले विजय हाँसिलमात्रै गर्न सकेनन् राम्रो मत पनि पाउन नसकेका हुन्। यस्तै गणना हुन बाँकी कीर्तिपुरमा पनि दोहोरो अंक कटाउने छाँट देखिएको छैन।
निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा उम्मेदवार रहेका विनोद कुमार माझीले ४२ मत पाए भने उदयपुरको त्रियुगा नगरपालिका १२ मा प्रमोद मलाहा सहनीले २० मत पाए। यस्तै सुनसरीको गढी गाउँपालिका ६ मा सिताराम यादवले ६० मत, झापाको कन्काइ नगरपालिका ६ मा सुकलाल राजवंशीले ९ मत, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा शैलेन्द्र कुमार साह ९तेली० ले ७४ मत तथा सोही स्थानीय तहको वडा नम्बर ४ मा उदय नारायण पण्डितले २३१ मत पाएका छन्।
यसैगरी रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ मा शेख जमिरुल हकले १३५ मत पाउँदा गढीमाइ नगरपालिका ८ मा सुरेन्द्र राउत कुर्मीले ८ मत, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ माकुश्वेश्वर मण्डलले २५ मत, काठमाडौँको कीर्तिपुर नगरपालिका जारी मतगणनामा केशव श्रेष्ठले ४ मत पाएका छन्।
यस्तै कीर्तिपुर १ मा विकास प्रधानले ७ मत, वडा नम्बर ४ मा श्रीकृष्ण महर्जनले २ मत, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा सीताराम पटेल कुर्मीले ४२३ मत र भीमदत्त नगरपालिका वडा नम्बर ६ मा यादव बहादुर चन्दले ५ मत पाएको आयोगले जनाएको छ।
संघीय संसदमा राष्ट्रिय पार्टीको हैसियत रहेको जनमत स्थानीय तह उपनिर्वाचनमा भने सीमित हुन पुगेको हो । सोही पार्टीको मधेसमा प्रतिस्पर्धी रहेको जसपा नेपालले भने दुई स्थानमा वडाध्यक्ष जितेको छ ।