धनगढी–उपनिर्वाचनअन्तर्गत सुदूरपश्चिममा रिक्त रहेको पदको लागि मतदान जारी भएको छ। उपनिर्वाचनअन्तर्गत यहाँको पाँच पदका लागि मतदान भइरहेको हो। प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार बिहान ७ बजेदेखि नै पाँच वटै स्थानमा उत्साहजनक रूपमा मतदान जारी छ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ। जहाँ १०० बढी मत खसिसकेको मतदान अधिकृत भट्टले जानकारी दिए।
यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पुर्वीचौकी गाउँपालिका–६, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ र बझाङको सुर्मा गाउँपालिका–४ मा पनि मतदान जारी रहेको भट्टले जानकारी दिए। त्यहाँ वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ।
कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका ६ को वडाध्यक्ष पदको उपनिर्वाचनमा बिहान ७ बजेबाट सुरू भएको मतदानमा ८ बजेसम्म २४५ जनाले मतदान गरेका छन्। वडामा जम्मा ५४०० मतदाता छन्।