थापाथलीका सुकुम्बासी आन्दोलित, महानगर कार्यालयमा प्रदर्शन - Chaitanya News
  • 2026-04-23
  • 03:41:42
  • बुधबार,बैशाख ०९, २०८३
  • थापाथलीका सुकुम्बासी आन्दोलित, महानगर कार्यालयमा प्रदर्शन

    थापाथलीका सुकुम्बासी आन्दोलित, महानगर कार्यालयमा प्रदर्शन

    काठमाडौं – थापाथलीस्थित बागमती किनारामा बसोबास गर्दै आएका सुकुम्बासीहरुले महानगरले बस्ती खाली गर्न लागेको विरोधमा आज विहानैदेखि प्रदर्शन शुरु गरेका छन् ।

    महानगरले बस्ती खाली गराउन लागेको विरोधमा सुकुम्बासीहरुले महानगरको कार्यालय सुन्धारामा धर्ना दिएका हुन् । आफूहरूको वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सुकुम्बासीहरू आन्दोलित भएका हुन् ।

    बस्ती हटाउने महानगरको अभियानप्रति आक्रोशित भएका सुकुम्बासीले देशव्यापी आन्दोलन समेत घोषणा गरेका छन् ।

    उपत्यकाका नदी खोला किनारामा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुम्बासीलाई नदी किनारबाट हटाउन खोज्दा सोमबार झडप भएको थियो । तर महानगरको डोजर सुकुम्बासी बस्तीमा पुग्दा स्थानीयले प्रतिकार गरेपछि महानगर प्रहरी प्रमुख राजु पाण्डेसमेत घाइते भएका छन् ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बाग्मती किनारामा बसोबास गर्दै आएका १ सय ३८ परिवार सुकुम्बासी हटाउन लागेको हो ।

    अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती खाली गर्न नसके पछि काठमाडौं महानगरसँग समन्वय गरेको हो ।

    बाग्मती सभ्यता एकीकृत विकास समितिले गत कात्तिक २५ गते सार्वजनिक सूचना निकाली १० दिनभित्र बाग्मतीको नदि किनारामा बस्ती खाली गर्न, त्यो नभए विकास समितिले आफैं खाली गर्ने चेतावनी दिएको थियो । यस्तो चेतावनी दिएको १७ दिनपछि विकास समितिको समन्वयमा महानगरले सुकुमबासी टोलमा डोजर लगाएको थियो ।