एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा - Chaitanya News
  • 2026-06-29
  • 19:23:52
  • सोमबार,आषाढ १५, २०८३
  • एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

    एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

    काठमाडौँ– कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ। हिजो (मंगलबार) राति बिदाई गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्सका खेलाडीलाई विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन्।

    नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ।

    बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने बताए।

    उनले भने, ‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोतसाधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ। आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ।’

    विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए।

    प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ।