कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ - Chaitanya News
  • 2026-06-29
  • 19:23:53
  • सोमबार,आषाढ १५, २०८३
  • कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ

    कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ

    काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा लगानी दशक घोषणा गर्नुको उद्देश्य यस क्षेत्रका समस्याहरू समाधान गर्नु रहेको बताएका छन्। आज (मंगलबार) मन्त्रालयमा कृषि विकास रणनीतिको समीक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषिमा आमूल परिवर्तन ल्याउने उद्देश्यले सरकारले केही प्रमुख कदम उठाउने तयारी गरेको बताएका हुन्।

    यस्तै मन्त्री अधिकारीले भने, “अहिले म मन्त्री बनेको बेलामा काम गर्न इच्छाशक्ति छ, तर कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ। बाली भित्राउन तीन चार महिना लाग्न सक्छ त्यसैले कृषिका नीतिका समस्या समाधान गर्न पनि समय लाग्ने कुरा स्पष्ट छ।”

    उनले सरकारले आत्मनिर्भरता हासिल गर्ने तरिकाले काम गर्न खोजेको र यसका लागि दीर्घकालीन सोच र योजनाहरू बनाएको बताए।

    मन्त्री अधिकारीका अनुसार मुलुकको समग्र अवस्था र राजनीतिक स्थितिका बिच आर्थिक अवस्थाले धेरै हदसम्म सीमितता ल्याएको छ, जसका कारण इच्छा र आवश्यकतालाई पूरा गर्न केही समस्या आइरहेका छन्।

    अर्को वर्षको रणनीतिक र गन्तव्य तयार गर्दै कृषि मन्त्रालयले केही नयाँ योजनाहरू बनाइरहेको छ। मन्त्री अधिकारीले आगामी वर्षका लागि प्रस्ताव गरिएका योजनाहरूको सम्बन्धमा कृषक र कृषिविद् विशेषज्ञहरूको सुझाव महत्त्वपूर्ण हुने बताएका छन्।

    उनले भने, “हामीले आगामी वर्षका लागि नयाँ रणनीति र योजनाहरू तयार गर्दैछौं र यसमा तपाईंहरूको सुझाव र योगदान आवश्यक छ। कृषिमा हुने समस्याहरूको समाधान गर्न र कृषि क्षेत्रमा प्रगति ल्याउनका लागि सबैको साथ र सहयोग आवश्यक छ।”

    मन्त्री अधिकारीको भनाइमा कृषिमा गर्ने सुधारका लागि दीर्घकालीन र व्यावहारिक उपायहरू अपनाउनुपर्ने महत्त्व उल्लेख गरिएको छ। साथै, उनले कृषिमा गरेको लगानी र सुधारको प्रक्रियामा सरकारले कृषकहरूलाई प्राथमिकता दिने कुरा पनि पुष्टि गरे।