काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन्।
आज (मंगलबार) सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए।
हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उनले उल्लेख गरेका छन्।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ। अब कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुःखको कुरा हो। तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइन भन्ने स्थिति हुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन। त्यसका निम्ति राज्य छ र सरकार छ’ उनले शुभकामना सन्देशमा भनेका छन्।
शुभकामना सन्देश भनिएको छ( ‘सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिँदैन। यस दिनको अवसरमा कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु।
एमालेले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य सञ्चालन र समाज सञ्चालनको एउटा अभिन्न अंगका रूपमा बुझेर व्यवहार गरिरहेको बताए। अहिले लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरूप लिन थालेको ओलीको भनाइ छ।