शान्ति र प्रेमको उत्तम मार्ग पूर्वीय दर्शन :  तोमनाथ उप्रेती - Chaitanya News
  • 2026-04-30
  • 19:59:21
  • बिहिबार,बैशाख १७, २०८३
  • शान्ति र प्रेमको उत्तम मार्ग पूर्वीय दर्शन :  तोमनाथ उप्रेती

    शान्ति र प्रेमको उत्तम मार्ग पूर्वीय दर्शन :  तोमनाथ उप्रेती

    चिन्तन जगत् र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । यस चराचर जगतमा जति पनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन्, ती सबैको उद्गमस्थल र समस्या समाधानको बाटो नै चिन्तन हो । व्यक्तिले यस संसारमा जे जति क्रियाकलाप गर्छ र आफ्नो ज्ञानको सदुपयोग गरी स्थापित हुन खोज्छ, त्यो कुनै न कुनै चिन्तनमा आधारित भएरै गरेको हुन्छ ।

    पूर्वीय चिन्तन प्राचीन दक्षिण एसियाली दार्शनिक प्रणाली अन्तर्गतको एक भाववादी चिन्तन हो । वेदान्त चिन्तनको सामान्य अर्थ वेदको सिद्धान्त हो । वेदको अध्ययनपछि निकाल्ने निष्कर्ष वा अन्त्य नै वेदान्त हो । यसलाई वैष्णव चिन्तन पनि भनिएको छ । वेदान्त चिन्तन उपनिषद्हरूको सिद्धान्तहरूमा आधारित छन । यसका विभिन्न सम्प्रदायहरू छन । यिनलाई अद्वैत, विशिष्टाद्वैत, द्वैत र शुद्धाद्वैत भनिन्छ ।
    पूर्वीय दर्शनका प्रमुख चार परम्पराहरूलाई हिन्दू दर्शन, बौद्ध दर्शन, जैन दर्शन, र सिख दर्शनमा वर्गीकरण गर्न सकिन्छ। यी सबै परम्पराहरू जीवनको उद्देश्य, आत्मा, ब्रह्मा (सार्वभौम परमेश्वर), र मुक्तिको खोजीमा समर्पित छन्। विशेष गरेर, बौद्ध धर्म र जैन धर्मका दर्शनमा संसारको सबै जीवहरूको प्रति करुणा र अहिंसा मूलभूत सिद्धान्तको रूपमा प्रस्तुत गरिएको छ।

    हिन्दू दर्शन:
    हिन्दू दर्शन ऋग्वेद, यजुर्वेद, सामवेद, र अथर्ववेदमा आधारित छ। यसका प्रमुख विद्यालयहरूमा वेदान्त, योग, सांख्य, न्याय, वैशेषिक र मिमांसा पर्छ। वेदान्त दर्शन सबैभन्दा प्रसिद्ध छ र यसको मूल प्रवृत्तिहरू आत्मा (आत्मा) र ब्रह्मा (सार्वभौम परमेश्वर) बीचको एकतामा आधारित छन्। वेदान्तका अनुसार, मानव जीवनको उद्देश्य ब्रह्मसँग मिलन गर्न र मोक्ष (मुक्ति) प्राप्त गर्नु हो। योग दर्शन शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासहरूको माध्यमबाट आत्मा र परमात्माको एकतामा पुग्नको लागि मार्ग प्रदान गर्दछ।

    बौद्ध दर्शन:
    बौद्ध धर्मका संस्थापक गौतम बुद्धले संसारको दुख र दुःखका कारणहरूको व्याख्या गरेका छन्। उनका चार आर्य सत्यहरू र अष्टांग मार्ग जीवनको दुःखको अन्त्यका लागि मार्गदर्शन प्रदान गर्दछ। बौद्ध दर्शनमा अहिंसा, करुणा, समता र आत्मनियन्त्रणका महत्वपूर्ण सिद्धान्तहरू रहेका छन्। बौद्ध धर्मले आत्मा र ब्रह्मा भन्ने अवधारणालाई नकारेर त्यसको स्थानमा अनात्माको विचार राख्यो, जसको अनुसार संसार र जीवन निरन्तर परिवर्तनमा रहेका छन्।

    जैन दर्शन:
    जैन धर्मका संस्थापक महावीर स्वामीले जीवनका सबै जीवहरूको प्रति गहिरो करुणा र अहिंसा अँगालेका थिए। जैन दर्शनको केन्द्रीय सिद्धान्त अहिंसा हो र यसको अभ्यासले आत्मा र संसारको परिपूर्णता प्राप्त गर्न मद्दत पुर्याउँछ। जैन धर्ममा पनि साम्यवाद र मुक्तिका विचारहरू महत्वपूर्ण छन्, जहाँ व्यक्तिले स्वच्छ र पवित्र जीवन जिउनु पर्छ र अहिंसा र सत्यका सिद्धान्तहरू पालन गर्नुपर्छ।

    सिख दर्शन:
    सिख धर्म सिख गुरूहरूको शिक्षामा आधारित छ र यसले एकता, प्रेम, र मानवता मा आधारित जीवन जिउने सन्देश दिन्छ। सिख दर्शनको मुख्य उद्देश्य भगवानसँग सम्बन्ध स्थापित गर्ने र संसारमा सेवा र निस्वार्थ प्रेमको अभ्यास गर्नु हो। सिख धर्ममा ’सिमरन’ र सेवा महत्वपूर्ण अंशहरू हुन्, जसको माध्यमबाट मानिस आत्मज्ञान र मुक्ति प्राप्त गर्न सक्छ।

    चिनियाँ दर्शन:
    चिनियाँ दर्शन पनि यति पुरानो र विविध छ कि यसका मुख्य धाराहरू कन्फ्यूसियसवाद, ताओवाद र बुद्धवादलाई सम्मिलित गर्न सकिन्छ। कन्फ्यूसियसवादले समाजमा शिष्टता, नैतिकता र मानवता बृद्धि गर्नका लागि शिक्षा र प्रादेशिक कर्तव्यको महत्त्वमा जोड दिन्छ। कन्फ्यूसियसका अनुसार, व्यक्तिले आफूलाई सुधारेर समाजमा समृद्धि र शान्ति ल्याउनुपर्छ।
    ताओवादमा जीवनको साँचो अर्थ ताओ (मार्ग) मा बस्छ। ताओवादका अनुसार, ताओ एक अपरिभाष्य शक्ति हो जुन सबै प्राणी र प्राकृतिक घटनाहरूको उत्पत्ति र चलनको कारण हो। यो दर्शनलाई प्राकृतिक प्रवृत्तिहरूसँग सामन्जस्यमा बस्न र शान्तिपूर्वक जीवन जिउन प्रेरित गरिन्छ।

    जापानी दर्शन:
    जापानको दर्शन चिनियाँ र बौद्ध परम्पराहरूबाट प्रभावित छ, र यसमा शिनतो र जापानी बौद्ध धर्मका तत्वहरू प्रमुख छन्। शिनतो धर्ममा, प्राकृतिक देवताहरू र जीवनको अनन्त चक्रलाई मान्यता दिइन्छ। जापानी संस्कृति र दर्शनमा ’वाबी–साबी’ (सादगी र असमाप्तताको सौन्दर्य) र कियो (आध्यात्मिक समृद्धि र शान्ति) को विचारहरू महत्त्वपूर्ण छन्। जापानमा बौद्ध धर्मका विविध रूपहरू र ध्यानका अभ्यासहरूको धेरै महत्व छ।

    पूर्वी दर्शनको विश्लेषणत्मक समीक्षा:
    पूर्वी दर्शनमा जीवनलाई एक निरन्तर प्रवाहको रूपमा हेरिन्छ, जसमा आत्मा, ब्रह्म, र संसार सबै एक अर्कासँग जडित छन्। यसमा नैतिकता, आन्तरिक शान्ति, करुणा र मानवताको महत्त्वमा बल दिइन्छ। यो एक आत्म–ज्ञानको मार्ग हो, जहाँ व्यक्तिले आफ्नो वास्तविक अस्तित्वलाई बुझ्न र संसारसँग गहिरो सम्बन्ध स्थापना गर्नको लागि आन्तरिक संघर्ष गर्नु पर्छ।पूर्वी दर्शनको प्रमुख योगदान भनेको यसको समग्रता र प्राकृतिक दृषटिकोन हो। यसले मानिसलाई आफ्ना आन्तरिक संसारको अन्वेषण गर्न र बाह्य संसारसँग सामञ्जस्यमा बस्नको लागि प्रेरित गर्दछ। एकल आत्मज्ञान र ब्रह्मा (परमात्मा) को अन्वेषण गर्दै, यस दर्शनले समाजमा शान्ति, करुणा र सद्भाव ल्याउने कुरामा विश्वास गर्दछ।

    पूर्वीय चिन्तनका प्रणेता तथा व्याख्याता महर्षि व्यास हुन । यिनको व्रह्मसूत्र ग्रन्थले वेदान्त चिन्तनको सार प्रस्तुत गरेको छ । ब्रह्मको सत्तामा विश्वास गर्ने भएकाले वेदान्त चिन्तनलाई ब्रह्मवाद पनि भनिन्छ । वेदान्त चिन्तन पछिल्ला वैदिक साहित्यको विवेचना भएकाले यसलाई उत्तरमीमांसासमेत भनिन्छ । ज्ञानमा जोड दिने भएकाले यस चिन्तनलाई ज्ञानकाण्ड पनि भनिन्छ ।सम्पूर्ण वेदको अन्तिम भाग वा निष्कर्ष (१०८ वटा उपनिषद्) नै वेदान्त हो । वेदान्त दर्शन ज्ञानयोगको एउटा शाखा हो जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा उत्प्रेरित गर्छ । यसको मुख्य स्रोत उपनिषद हो । जुन वेद ग्रन्थ र अरण्यक ग्रन्थको सार मानिन्छ । उपनिषद् वैदिक साहित्यको अन्तिम भाग हो , त्यसैले यसलाई वेदान्त भनिन्छ ।

    भगवत गीतामा पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन ।वेदमा शिक्षा त्यो चिज हो जसले ब्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ भनिएको छ भने शंकरचार्यले आत्मानुभूती नै शिक्षा भनेका छ्न् । आज भन्दा पाँच हजार बर्ष पहिला नै उपनिषद् मा शिक्षा स्वतन्त्रताको लागि हो भनेर उल्लेख गरिएको पाइन्छ । निष्काम कर्म गरको मूल संदेश दिएको गीताको महिमा विश्वभरी आज पनि सान्दर्भिक छ । यो चिन्तनले शान्ति र प्रेमको मार्ग देखाउने र अनुभुत गराउने भएकाले यो चिन्तन बैज्ञानिक चिन्तन हो । यसैलाई आधार नमान्दा, पालना नगर्दा दिनदिनै विश्वभरी अशान्ति र घृणा बढ्दैछ । मानवीय मनोवृत्ति, उत्प्रेरणा र व्यवहारप्रतिको बुझाइमा परिवर्तन गर्दछ । संसारप्रतिको हाम्रो धारणालाई प्रभाव पार्दछ । सही र गलतको व्याख्याको प्रतिनिधित्व गर्दछ । मानव र संगठन बुझ्न एउटा बाटो एवं तरिका प्रदान गर्दछ । मानव जीवन, स्वतन्त्रता, सम्मानको दायित्ववोध गराउँदछ ।यसमा आत्म–सहायता कौशल (विनम्रता, आत्मनिर्भरता, स्वच्छता आदि), सामाजिक कौशल (असल व्यवहार, राम्रो आचरण, वातावरण सचेतना आदि) नैतिक सीप (साहस, दक्षता, पहल, समयनिष्ठता आदि) जस्ता मूल्यहरू समावेश हुन्छन । शान्ती,समानता, ध्यान, नम्रता, एकाग्रता, आशावाद, धैर्यता, आत्म–विश्वास, आत्मनियन्त्रण, आत्मसम्मान आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । सत्य ,शुद्धता, निष्पक्षता, इमान्दारीता, न्याय, ज्ञानको खोज, दृढ संकल्प आदि जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् । शान्तिपूर्ण सहअस्तित्व , मनोवैज्ञानिक व्यवहार (परोपकार, करुणा, विचार, नैतिकता, क्षमा आदि) र सामाजिक व्यवहार (भाइचारा, समानता, लगनशीलता, अरूको सम्मान, वातावरणीय जागरूकता आदि) जस्ता मूल्यहरू यसमा समावेश हुन्छन् ।

    पूर्वीय चिन्तनले सहिष्णुता र सद्भाव ,अरुको सम्मान गर्ने, रिस, डाह, इर्ष्या, घमण्ड नगर्ने, भेदभाव नगर्ने, दुःख परेको समयमा सहयोग गर्ने , भाईचारा ,अरुप्रति गरिने आत्मिय व्यवहार, अरुको इज्जत गर्ने, भेदभाव नगर्ने, तेरोमेरो नभन्ने, मानवताको नाता सबैको एउटै भन्ने जस्ता कुराहरुमा जोढ दिने भएकाले मानिसको दिनचर्या, आश्रम प्रबन्ध र कानुनको पालनाजस्ता विषयमा जोड दिन्छ । यसका साथै कुनै पनि मुलुकको शासन व्यवस्था कस्तो हुनुपर्दछ, नागरिक र राज्यबीचको सम्बन्ध, राज्यले नागरिकका लागि पुरा गर्नुपर्ने दायित्व र नागरिकले मुलुकको हित तथा राष्ट्रिय उन्नति र समृद्धिका लागि पूरा गर्नुपर्ने कर्तव्य समेतलाई व्याख्या गरेको छ ।

    व्यक्तिले आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत) हरुसँग विनम्र भाव राखी प्रस्तुत हुन, आफूलाई अरुको नजरबाट पनि हेर्ने बानीको विकास गर्न, व्यक्तिगतभन्दा पनि सामूहिक सम्मान र भावनाको विकास गर्न, सबैसँग भाइचाराको व्यवहार गर्न, कुकर्मलाई त्याग्न र असल कर्मद्वारा मानवीय जीवनलाई ऊर्जामय बनाउन वैदिक चिन्तनको रसस्वादन गर्नु आवश्यक हुन्छ । यस्तो रसस्वादन लागि व्यक्ति आफैँले शास्त्रीय ज्ञानप्रतिको आकर्षण बढाउनुपर्दछ । व्यक्तिगत स्वार्थमा तँछाडमछाड गर्दै एकअर्काको खुट्टा तान्दै हिँड्ने बानी त्याग्नुपर्दछ । अहंकारी र व्यक्तिगत स्वार्थ मात्र हेर्ने, अरुलाई अपमान गर्ने, सार्वजनिक पद र मर्यादाको दुरुपयोग गर्ने व्यक्तिले क्षणिक लाभ त लिन सक्ला तर अन्ततोगत्वा दीर्घकालमा यस्ताको परिणाम भयावह हुन जान्छ । असल वा खराब कर्मले व्यक्ति तथा सामाजिक जीवनमा पारेको प्रभावलाई विश्वका धेरै सफल वा असफल व्यक्तिको जीवन–कथासँग समेत जोडेर हेर्न सकिन्छ । राज्यले नागरिकका लागि दिने सार्वजनिक सेवामा सरकारदेखि राष्ट्रसेवकसम्मले नीति बनाउँदा होस् वा सेवा प्रवाह गर्दा कसरी सदाचारितालाई मूल मन्त्र बनाउने भन्ने कुरा विभिन्न दृष्टान्तसहित उल्लेख गरेको छ ।

    वेदको निष्कर्ष, गीताको मुल सन्देशबाट इमानदार, शुद्द आचरण र चरित्रवान प्रशासकहरु तयारगरी उनिहरुको असल कर्मले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा प्रभाव पार्दे मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ । नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नुपर्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ ।

    मुलुकको शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता हुनुको कारणहरु समतामूलक समाजको निर्माण गर्न असल नागरिकको पहिचान दिलाउन समयसापेक्ष समाजलाई परिवर्तन एवं रुपान्तरण गर्न सामाजिक न्यायको प्रवर्द्धन गर्न नागरिकमा राज्यप्रतिको दायित्व र अपनत्व बोध गराउन नागरिकलाई आफु र समाजप्रतिको कर्तव्यबोध गराउन नेपालीहरुबीच आपसी सद्भाव, सहयोग र एकताको भावना विकास गर्न राष्ट्रिय एकता प्रवर्द्धन गर्न कला, संस्कृतिको सम्मान, संरक्षण र सम्वर्धन गर्न शान्ति, बन्धुत्व, भाईचारा, नैतिकता, सदाचारिता, सुसंस्कार कायम गर्न सुशासन कायम गर्न मानव जीवनलाई माया, प्रेम, दया, शान्ति र अहिंसाप्रति प्रतिवद्ध बनाउन बहुधार्मिक, बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक समुदायबीच आपसी समभाव र सहिष्णुता कायम गर्न राज्यका शासकिय प्रशासकिय एवं व्यवस्थापकिय अंगहरुमा प्रत्येक नेपालीको पहिचान, प्रतिनिधित्व, पहुँच र सहभागिता सुनिश्चित गर्न सबै प्रकारका भेदभावको अन्त्य गरी सम्मानपूर्वक जीवन यापन गरी मेलमिलाप कायम गर्न वैदिक चिन्तको अपरिहार्यता रहेको छ ।नेपालको संविधानले लोकतान्त्रिक शासन र मूल्य मान्यतालाई केन्द्र बिन्दुमा राखेको छ । लोकतन्त्र र मानव जीवनलाई नङमासुको सम्बन्धका रुपमा प्रत्याभुत गर्दै मौलिक हककै रुपमा मानवीय मूल्यहरुलाई स्विकार गरेको छ । मानवीय मूल्यले सामाजिक, आर्थिक, सांस्कृति र राजनीतिक मूल्यको प्रवर्धनमा सहयोग पु–याउँछ ।

    व्यक्तिले आफू, परिवार, समाज र राष्ट्रको व्यक्तित्व निर्माणका लागि प्रकृति अनुरूप समाजसँग मिलेर कर्तव्य निर्वाह गर्नुपर्ने अनिवार्यता शास्त्रमा उल्लेख छ । साथै सबैले व्यक्तिगत रुपमा कर्तव्य निर्वाह गर्दा अरुको अधिकार पनि सुरक्षित हुनुपर्दछ भन्ने मान्यता लिएको सनातन चिन्तनले सदाचार नीतिलाई राज्य सञ्चालनको मुख्य आधार मानेको पाइन्छ । अधिकार, कर्तव्य, अनुशासन, विधिको पालना, असल कर्म, सामाजिक मर्यादा, सबैप्रतिको सम्मान भाव र राष्ट्रिय हितलाई सदाचारिताको पूर्वसर्तका रुपमा पूर्वीय चिन्तनले व्याख्या गरेको छ । व्यक्ति, परिवार र समाजको सदाचारको प्रभाव प्रत्यक्ष वा परोक्ष रुपमा राज्य प्रणालीमा पर्दछ । त्यसैले व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न सकेमा मात्र राज्यको व्यक्तित्व निर्माण हुन सक्छ । व्यक्ति, परिवार र समाजको असल व्यक्तित्व निर्माण गर्न पुर्वीय चिन्तनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

    मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति, खुसी र आनन्द मिल्छ । असत्यबाट सत्यको नजिक लौजाऊ । अन्धकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।“ यो नै जीवनको लागि उत्तम मार्गचिन्तन हो । बास्तवमा हामीसँग यस्ता चिन्तनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।कुनै पनि व्यक्तिको जीवनको सार्थकता उसले अरुसँग गर्ने व्यवहारले निर्धारण गर्दछ ।

    पूर्वीय चिन्तनले व्यक्तिमा हुने अहंकार, काम, क्रोध, लोभ र मोहलाई त्याग गर्नका लागि स्वमूल्यांकनमा जोड दिएको छ । स्वमूल्यांकन र सदाचारिताबीच सकारात्मक सम्बन्ध रहेको हुन्छ । स्वमूल्यांकन गर्न सक्ने व्यक्ति अनुशासित त हुन्छ नै साथै अरुलाई सम्मान गर्ने, आफ्नो कर्तव्यमा नचुक्ने, सबैसँग मित्रवत् व्यवहार गर्न सक्ने हुन्छ । कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिमा यो गुण रहेमा उसले दिने सेवा प्रवाहले समेत सार्वजनिक जीवनमा सकरात्मक सम्बन्ध विस्तार गर्दै मुलुकको सार्वजनिक प्रशासनलाई स्वच्छ,पारदर्शी, निष्पक्ष, समावेशी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सहयोग गर्दछ ।

    पूर्वीय चिन्तनको मूल सार भनेकै उत्कृष्ट नागरिक बन्नु, समुन्नत राज्य निर्माण गर्नु हो । जसका लागि हरेक नागरिक आफ्नो जिम्मेवारीप्रति निष्ठावान् हुनुपर्दछ । सकारात्मक सोचको विकास गर्नुपर्दछ । सदाचारितामा सदा समर्पित हुनुपर्दछ । अरुलाई सम्मान गर्नुपर्दछ । असल कर्म नै समुन्नतिको आधार हो भन्ने सोचको विकास गर्न सक्नुपर्दछ । यसका साथै सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले अनावश्यक लोभ, लालच त्यागेर राज्यको नीति नै आफ्नो नीति मानेर कर्म गर्ने र सदाचारितालाई मूल मन्त्र बनाउन सकेमा पूर्वीय चिन्तनको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ । पूर्वीय चिन्तनलाई सही रुपमा बुझेर रसपान गर्न सकेमा यसले हरेक नागरिकलाई व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको हितमा कर्मशील बनाउनुको साथै हरेक तह र तप्कासँगको सम्बन्ध विकास, विस्तार र कर्तव्य पालना गर्न सक्ने समेत बनाउँछ ।

    पूर्वीय र पाश्चात्य चिन्तन परम्पराका सकारात्मक एवम् व्यवहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई अनुसरण गर्दा मानव कल्याण समाज, विकास र विश्व शान्ति प्राप्त गर्न सकिन्छ । धर्म, संस्कार, संस्कृति, कला र साहित्य संग जोडिएको पूर्वीय चिन्तन परम्परामा मानवको चरित्र र सामूहिकतालाई महत्त्व दिएको हुन्छ भने पाश्चात्य चिन्तन परम्परामा वैज्ञानिक खोज, आधुनिक प्रविधि, आलोचनात्मक चेतसहितको ज्ञान र तर्कशास्त्रलाई विशेष प्राथमिकता दिएको हुन्छ । यी दुवै बेग्लाबेग्लै चिन्तन परम्पराको सकारात्मक र व्यवहारिक पक्षको समन्वयात्मक प्रयासबाट अघि बढ्नसकेमा विश्वव्यापी शासन प्रणालीबाट नेपालले पर्याप्त लाभ लिनसक्ने देखिन्छ ।सत्य र अहिंसाको भावना मर्दै गएको शान्ति र सद्भावको अवस्था कमजोर रहेको अपराधका नयाँ नयाँ शृंखला बढ्दै गएको जाति, धर्म एवं क्षेत्रिय सम्प्रदाय जस्ता विषयमा राजनीतिकरण हुने गरेको हिंसा, हत्या, बलात्कार, यौनदुर्व्यवहार जस्ता घटना बढ्दै गएको भ्रष्टाचार मौलाएको नैतिकता, एवं लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास आएको मानवीयता दिनप्रतिदिन दयनीय बन्दै गएको विकृति, विसंगति एवं सामाजिक विचलन बढ्दै गएको अवस्थामा पूर्वीय चिन्तन र सभ्यताबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । पूर्वीय चिन्तन र सभ्यताबाट पाठ सिकेर दयनिय अवस्थामा रहेको नैतिकता र सादाचारयुक्त कार्यसंस्कृति अभाव रहेको राष्ट्रिय एकता, भ्रातृत्व, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको सम्मानमा एकरुपता कायम हुने अवस्था कमजोर रहेको अवस्थामा मानविय मूल्यहरु आत्मसाथ गर्दै आफु र समाजप्रति इमान्दार बनाउन सक्ने देखिन्छ ।
    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)