काठमाडौँ– विश्व बैंक र नेपाल सरकारको संयुक्त पहलमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रमको पहिलो खण्ड कार्यान्वयन सुरु भएको छ।
आजबाट सुरु भएको कार्यक्रमको लागत १७ अर्ब १५ करोड रुपैयाँ रहेको छ। यो कार्यक्रमले सडक सुधार र सुरक्षामा विशेष भूमिका खेल्ने दुवै पक्षले अपेक्षा गरेका छन्। तीन खण्डमा कार्यान्वयन गरिने यो कार्यक्रम कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका विभिन्न स्थानमा लागू हुनेछ।
प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो कार्यक्रम सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्नेछ। पहिलो खण्डमा १८० किलोमिटर सडकको स्तरोन्नति गरिने छ। यसमा १०० किलोमिटर सडक बाह्रै महिना सञ्चालन हुन योग्य बनाइनेछ। यसअन्तर्गत पर्ने पुलको मर्मत सम्भार, स्तरोन्नति तथा निर्माण पनि गरिने विश्व बैंकले जनाएको छ।
विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंकाका क्षेत्रीय निर्देशक डेभिड सिस्लनले नेपाल सरकारसँग मिलेर सडक स्तरोन्नतिमा गरिने प्रगतिले लाखौँ नेपालीलाई लाभान्वित बनाउने बताएका छन्।