काठमाडौँ– देशमा भएको विदेशी विनिमय सञ्चिति सवा २२ खर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म यस्तो सञ्चिति २२ खर्ब ३२ अर्ब पुगेको हो। भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो। यस अनुसार एक महिनामा मात्रै यस्तो सञ्चिति ८० अर्ब रुपैयाँले बढेको छ।
यसमध्ये राष्ट्र बैंकसँगको सञ्चिति १९ खर्ब ८८ अर्ब रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४४ बराबरको सञ्चिति कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
यो सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो महिनासम्म १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको थियो।
यो अवधिमा चालु खाता १ खर्ब ११ अर्ब र शोधनान्तर स्थिति १ खर्ब ८५ अर्बले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो महिनासम्म चालु खाता ४९ अर्ब ६९ र शोधनान्तर अवस्था १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो।