काठमाडौँ– चालु आर्थिक वर्ष २०८१–८२ को साउन–कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ। जुन आम्दानी वार्षिक लक्ष्यको २२.३६ प्रतिशत हो।
यो आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई प्राप्त भएको हो। चार महिनामा सरकारलाई अनुदान प्राप्त भएको छैन। चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ।
यही अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ। सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ। यही अवधिमा ३४ अर्ब ५३ करोड १० लाख पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ८७ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ।