काठमाडौँ– आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस। प्रत्येक वर्ष तिहार सुरु भएको पहिलो दिन यो पर्व मनाइने गरिन्छ। यो दिनमा सुनचाँदीका गरगहना र भाँडाकुँडा किन्नु राम्रो मानिन्छ। नेपाल राष्ट्र बैंकले सोही अवसरमा आज एक दिनका लागि मात्र सुनको सिक्का समेत बिक्री गर्दै छ।
धनतेरसको दिन किनेको हरेक सम्पत्तिको मूल्य १३ गुणा ले बढ्छ भन्ने मान्यता छ। विशेष गरी पौराणिक कालमा सुनलाई सबैभन्दा मूल्यवान् धातु मानिथ्यो। त्यसैले यो दिन सुन किन्दा राम्रो हुने मान्यता स्थापित भएको पाइन्छ।
यसलाई धनतेरस नै किन भनियो त ? यसका पछाडि दुईवटा मान्यता रहेको पाइन्छ। भगवान् विष्णुले वामन अवतार लिएर बली राजाले देवताहरुसँग युद्ध गरेर जितेको जमिन फिर्ता गराएको वामन पुराणमा उल्लेख भएको पाइन्छ।
बली राजाले आफूलाई त्रिलोककै शक्तिशाली र दानवीर राजा मान्थे। बली राजाको घमण्ड चुर गर्न विष्णुले वामन अवतार लिए र बली राजासँग तीन पाइला जमिन मागे। शुक्राचार्यले त्यो अवतार विष्णुको हो भन्ने समेत पहिचान गरे। त्यसैले उनले वामनले मागेको कुरा अस्वीकार गर्न बली राजालाई भनेका थिए।
तर बली राजाले ले शुक्राचार्यको कुरा मानेनन् र वामनले जे मागे पनि दिने सङ्कल्प गरे। यसलाई रोक्न शुक्राचार्य बलीको कमण्डलुमा सूक्ष्म रूप धारण गरेर बसेका थिए। वामनले कर्मपात्रोमा कुशलाई यसरी राखे कि शुक्राचार्यको आँखा नै फुट्यो। त्यसपछि छट्पटाएर उनी कर्मपात्रोबाट बाहिर आएका थिए।
त्यसपछि वामनले बली राजासँग तीन पाइला जमिन मागे। तीन पाइलामा उनले तीनै लोक ओगटिदिए, सबै जमिन र सम्पत्ति आफ्नो बनाए र देवताको लुटिएको धन फिर्ता गरिदिए। यो क्रममा देवताहरूले यसअघि लुटिएकोभन्दा १३ गुणा बढी धन फिर्ता पाएको भन्ने मान्यता छ। सोही कारण आजको दिनमा कुनै सामान किन्नेले राम्रो प्रतिफल पाउँछ भन्ने जनविश्वास रहँदै आएको छ।
अर्को, मान्यता अनुसार समुन्द्र मन्थनको समयमा भगवान् धनन्तरीले हातमा अमृत कलश लिएर प्रकट भएका थिए। धनवन्तरीलाई पनि विष्णुको अवतार मानिन्छ। संसारमा चिकित्साविज्ञानलाई विस्तार तथा प्रचारप्रसारको लागि आजकै दिन विष्णुले धनवन्तरीको अवतार लिएको मान्यता छ। यसैले आजको दिनलाई धनतेरस भनिएको भन्ने मान्यता छ।