तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु - Chaitanya News
  • 2026-06-29
  • 11:20:10
  • सोमबार,आषाढ १५, २०८३
  • तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु

    तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु

    काठमाडौँ–  यस वर्षको तिहारका लागि नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ। राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो। राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ।

    राष्ट्र बैङ्कले यसपटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ। बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यस्तो धातुबाट बनेका यस्ता सिक्काहरूको मूल्य बढाएको हो। संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ।

    बैंकको टक्सार महाशाखा यसअघि ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियन, गुरु नानक २५००, सत्यमोहन जोशी २५००, धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार रुपैयाँ पुर्‍याएको छ। १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन, जगलक्ष्मी, गाई मेडालियन सत्यमोहन जोशी १००० नामक मेडालियनको मूल्य १ हजार ८ सयबाट रुपैयाँबाट २ हजार रुपैयाँ पुर्‍याएको छ।

    त्यस्तै, १५ ग्रामको टक्सार यान्त्रिकीकरणको मूल्य ३ हजार ८ सय रुपैयाँबाट चार हजार १ सय, ३१.१०३ ग्रामको राज्यारोहण १ ओजेड ७ हजार ३ सय रुपैयाँबाट ७ हजार ९ सय ५० रुपैयाँ, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार रुपैयाँ, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहणको ७ हजार २ सय बाट ७ हजार ८ सय ५० पुर्‍याइएको जनाएको छ।