ओली सरकारको एक सय दिन, कूटनीतिक क्षेत्रमा कति सफल ? - Chaitanya News
  • 2026-07-04
  • 09:52:48
  • शनिबार,आषाढ २०, २०८३
  • ओली सरकारको एक सय दिन, कूटनीतिक क्षेत्रमा कति सफल ?

    ओली सरकारको एक सय दिन, कूटनीतिक क्षेत्रमा कति सफल ?

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पार गरेको छ। सरकार गठन भएको १०० दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले बुधबार आफू र आफ्नो सरकारले गरेको कामको फेहरिस्त सुनाए।

    प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध तथा वैदेशिक मामिलाको बारेमा भने खासै चर्चा गरेनन्। सय दिने उपलब्धिको चर्चा गर्दै उनले यतिमात्र भने, ‘हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौँ। हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, न्यायोचित र जिम्मेवार अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्छौं। विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट हामी चिन्तित छौँ, वार्ताको माध्यमबाट ती सबै तनावहरूको शान्तिपूर्ण समाधान चाहन्छौँ। सबैले संयमपूर्वक शान्ति स्थापनामा लाग्न जरुरी ठान्छौँ।

    प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर नरहेको चर्चा उनी प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सुरु भएको हो। खासगरी दुवै छिमेकी देश भारत र चीनसँग उनको दुरी बढ्दै गइरहेको कूटनीतिक मामिलाका जानकार बताउँछन्।

    संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन बाहेक उनले कुनै पनि मुलुकको भ्रमण यो अवधिमा गरेका छैनन्। यो अवधिमा अन्य मुलुकबाट पनि उच्चस्तरीय भ्रमण हुन सकेको छैन।

    यसअघिको सरकारको पालामा अमेरिका, चीन, भारत, बेलायत लगायतका देशबाट उच्चस्तरीय भ्रमण भएको थियो। तर ओली प्रधानमन्त्री हुनासाथ त्यस्ता भ्रमण ठप्प भएको हो।

    चीनबाट राजनीतिक दलस्तरका भ्रमण भइरहेका छन्। चीनले यहाँका राजनीतिक दललाई आफ्नो देशमा भ्रमण गराइरहेको छ। तर दुई देशको औपचारिक भ्रमण हुन सकेको छैन। जसले गर्दा दुई पक्षीय सम्झौतासमेत भएको छैन।

    प्रधानमन्त्री भएपछि ‘कट सी’ का लागि भए पनि सम्बन्धलाई ‘रिचार्ज’ गर्न विदेशका भ्रमण गरिरहनु पर्ने कूटनीतिक मामिलाका विज्ञ बताउँछन्। तर प्रधानमन्त्री ओलीले यो सय दिनको अवधिमा कुनै पनि देशको औपचारिक भ्रमण गरेका छैनन्।

    उनी राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गए पनि त्यसलाई औपचारिक भ्रमण मानिँदैन। नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै भारत र चीनले आ–आफ्नो देशमा भ्रमण गराउन तँछाडमछाड गर्थे तर यसपटक दुवै देश चुपचाप छन्।

    बरु प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका निम्तो पठाएका थिए। भारतले हालसम्म उनको निमन्त्रणालाई चासो दिएको छैन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमण गर्न इच्छुक छन् तर उताबाट अहिलेसम्म निमन्त्रणा आएको छैन।

    चीन पनि यो मामिलामा चुपचाप छ। पूर्वराजदूत विजयकान्त कर्ण भन्छन्, ‘कुनै पनि देशका प्रधानमन्त्री वा देश प्रमुख विदेश भ्रमण गर्दा देशको गरिमा बढ्छ । अन्तर्राष्ट्रिय जगतको ध्यान जान्छ। भ्रमणको क्रममा दुई देशको बिचमा विभिन्न अन्तरङ्ग कुराकानी हुन्छ, विभिन्न सम्झौता हुन्छ। त्यसले देशलाई अगाडि बढाउन मद्दत गर्छ तर ओली प्रधानमन्त्री भएपछि ती सबै ठप्प छन्।

    यसबिचमा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले भारतको भ्रमण गरिन्। उनलाई भारतले महत्त्व दिएको चर्चा भयो। परराष्ट्रमन्त्री तहमा त्यो भ्रमणले राम्रो गर्ला तर समग्र देशको हितमा खासै उपलब्धि नभएको पूर्वराजदूत कर्ण बताउँछन्।

    राष्ट्र संघको कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली अमेरिका गएका थिए। अनेक प्रयासपछि भारतका प्रधानमन्त्री मोदीसँग उनको भेट भए पनि त्यसको खासै उपलब्धि देखिएको छैन। भारतका प्रधानमन्त्रीलाई भेट्न सफल हुनुबाहेक अरू खासै केही उपलब्धि नदेखिएको जानकार बताउँछन्।

    अमेरिका पुग्दा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति वा अन्य उच्च अधिकारीसँग भेट गरेर देशको हितमा केही न केही सम्झौता गर्न पहल गर्नुपर्नेमा त्यसमा समेत चुकेको देखिन्छ। अमेरिकामा एक साथ भेला हुँदा सार्कस्तरीय मन्त्रीहरूको बैठक समेत उनले राख्न सकेनन्। केही उच्चस्तरीय भेटघाट भए पनि देशको हितमा सन्देशमूलक कार्य केही नभएको गुनासो कूटनीतिज्ञहरूले गरिरहेका छन्।

    प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले इपीजी प्रतिवेदन, सीमा विवादलगायतका विषय समाधान गर्न भारतलाई दबाब दिएका थिए। त्यतिबेला उनको निकै प्रशंसा भएको थियो तर अहिले उनी चुपचाप छन्। अमेरिकामा भारतका प्रधानमन्त्री मोदीसँग भेट हुँदा ईपीजी र सीमा विवादलगायतको विषयमा चर्चा नै भएन।

    बुधबार सय दिनको अवसरमा दिएको सम्बोधनमा पनि प्रधानमन्त्री ओलीले यी कुरा उल्लेख गर्न सकेनन्। इजरायल–हमास द्वन्द्वका सम्बन्धमा पनि नेपालको भूमिका निकै फितलो देखिएको छ। हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे सरकारले खासै प्रभावकारी कदम चाल्न सकेको छैन भने रुस–युक्रेन युद्धमा नेपालीहरू प्रयोग भएको विषयमा पनि सरकार मौनजस्तै देखिएको छ।

    तर, विदेश मामिलाका जानकार एवं एमाले विदेश विभागका सदस्य गोपाल खनालले प्रधानमन्त्री ओली कूटनीतिक रूपमा सफल रहेको दाबी गरेका छन्। एक दैनिक पत्रिका प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय सम्बन्धबारे प्रकाशित उनको लेखमा राष्ट्रहितलाई सर्वोपरि ठान्ने, नेपालको आन्तरिक राजनीतिमा छिमेकी र अन्तर्राष्ट्रिय शक्तिलाई निषेध गर्ने तर विकासमा सहकार्यको खुला आह्वान गर्ने नीतिगत निरन्तरता यो सय दिनका बिचमा प्रदर्शित भएको दाबी गरेका छन्।

    खनालले कुनै पनि देशको औपचारिक भ्रमण नगरेर विश्व शान्तिलाई सन्देश दिने मञ्चमा भाग लिन अमेरिका गएर प्रधानमन्त्री ओलीले ठुलो सन्देश दिएको उल्लेख गरेका छन्। उनले भारतले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिएको दाबी गरेका छन्। तर प्रधानमन्त्री ओलीले पहिला भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गराउन लागेको उनको भनाइ छ।