काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन्।
उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै भने, ुसय दिन सकियो, अर्को सय दिन र बाँकी अवधिमा गर्ने कामका योजनाहरू आजबाट सुरु हुन्छन्। बितेका एक सय दिनमा हामीले विपत्तिका बिच पनि गरेका केही नवीन थालनी स्थिरता, सुशासन र विकासको लक्ष्यतर्फका पाइला हुन्।
सम्बोधनका क्रममा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरे। ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे।
यसैगरी उनले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमा संलग्नमाथि कारबाही गरिने समेत बताए।
ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूमाथि सरकारले कानुनी कारबाही सुरु गरेको समेत बताए। हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्, प्रधानमन्त्री ओलीले भने, सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ।