काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ वर्षको अवधिमा पिउने पानीका लागि २० लाख ३७ हजार ३२८ रुपैयाँ खर्च गरेको छ। आर्थिक वर्ष २०८०–०८१ को १ वर्ष अवधिमा पिउने पानीका लागि सो रकम खर्च गरेको हो।
मन्त्रालयले विभिन्न फर्म तथा कम्पनीसँग खानेपानी खरिद गर्ने गरेको छ। मन्त्रालयले पानी आपूर्तिकर्ताको विवरण भने दिन मानेन। सिंहदरबारभित्रै पानी प्रशोधन प्लान्ट रहेपनि सिंहदरबारका मन्त्रालय तथा विभिन्न निकायहरूले बाहिरी फर्म तथा कम्पनीसँग पानी खरिद गर्दै आएका छन्।
सूचनाको हक प्रयोग गरेर रातोपाटीले सूचना माग्दा संघीय मामिला मन्त्रालयले १ वर्षको अवधिमा ६३ लाख ४१ हजार १५७ रुपैयाँ गाडी मर्मतका लागि खर्च गरेको विवरण दिएको छ। २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन मर्मतका लागि भएको यो खर्च भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कुन फर्म कम्पनीबाट कुन कुन सवारी साधन मर्मत गरेको हो सो बारेको सूचना दिन भने इन्कार गरेको छ।
यस्तै सो मन्त्रालयले १ वर्षको अवधिमा पत्रपत्रिका खरिदमा ३ लाख ६५ हजार ११० रुपैयाँ खर्च गरेको छ।